सिराहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला

रिपोर्ट नेपाल | 2019 Sep 10 | 07:02 am 50

  • महेश सिंह

सिराहा, भदौ २३: गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन् । बिरामीहरूमध्ये मेयर देवनाथ साहकै घरका चार बिरामी छन् ।

बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ। डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन थालेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो ।

डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र कसरी बच्नेबारे प्रचार प्रसार थालिसकेको उनले बताए । ‘लामखुट्टे नियन्त्रण अभियान चलाउने योजना अन्तर्गत औषधि छर्ने काम हुन सकेको थिएन,’ मेयर साहले भने, डेंगु सक्रमित देखिएपछि तत्कालै स्वास्थ्य शाखालाई नियन्त्रण गर्ने योजना बनाउन निर्देशन गरेको छु।

नगरको सम्वेदनशील क्षेत्रमा ‘फोबिङ्ग’ (औषधी छर्ने कार्य) र डेंगुबाट बच्ने सन्देशमूलक सूचना समम्प्रेषण सुरु भइसकेको उनले बताए। डेंगु रोगका लामखुट्टे पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए।

घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमला जस्ता ठाउँहरूमा पानी जम्न नदिने उनले स्थानीयहरूसँग आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.