सिन्धुपाल्चोकमा २ सय जना भाइरल ज्वरोको बिरामी, कोरोनाको आशंकामा त्रसित

रिपोर्ट नेपाल | 2020 Feb 12 | 09:03 am 104

सिन्धुपाल्चोक, माघ २९: जिल्लाको जुगल गाउँपालिका ३ गुम्बामा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली बुधबार उक्त स्थानतर्फ जाँदैछन्।

छिमेकी गाउँपालिका बलेफीको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

आजसम्म बिरामीको संख्या २ सय १ जना पुगेको अध्यक्ष श्रेष्ठले बताए। एकजना बिरामी पर्ने वित्तिकै पुरै परिवारमा फैलिरहेको श्रेष्ठले बताए ।

त्यस स्थानमा फैलिएको भाइरल ज्वरो चीनमा फैलिएका कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले पनि स्थानीय त्रसित भएको जनाए ।

विरामीहरुमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी, श्वास प्रश्वासमा कठिनाईलगायतका समस्या देखिएको श्रेष्ठको भनाइ छ।

चीनको सीमा क्षेत्र भएपनि हिमालका कारण चीनसँग त्यति आवतजावत हुने गरेको छैन। तामाङ समुदायको बाक्लो बस्ती भएका कारण प्रकोप तिब्ररुपमा फैलिन सक्ने भएकाले आज केही मास्क र औषधीसहित त्यसतर्फ जान लागिएको अध्यक्ष श्रेष्ठले बताए।

गाउँपालिका कार्यालयले विरामीमा कोरोना भाइरसको जस्तो लक्षण देखिएको भन्दै रोग पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेष टोली पठाइदिन पत्राचार पनि गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.