सिके राउत जनकपुर पुग्दा गुञ्जियो स्वतन्त्र मधेसको नारा

| 2019 Mar 10 | 07:00 pm 44

जनकपुरधाम, फागुन २६ : स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका हुन्।

राउत जनकपुर विमानस्थलबाट बाहिरिदा उनका कार्यकर्ताहरुले भने उनलाई ‘फ्री मधेस’ लेखिएको प्लेकार्ड बोकेर स्वागत गरेका थिए ।विमानस्थलमा राउतलाई स्वागत गर्न पुगेका उनका कार्यकर्ताले भने नेपालको संविधानको भावना विपरीत ‘फ्री मधेस’ लेखेको व्यानर र प्ले कार्डहरु हातमा बोकेर विभिन्न नारा लगाएका थिए ।

अपरान्ह ३ः५० बजे बुद्ध एयरको विमानवाट जनकपुर उत्रिएका राउतलाइ भेट्न र प्रतिक्रिया माग्न विमानस्थल पुगेका दुई दर्जन बढी सञ्चारकर्मीलाई राउतका कार्यकर्ताले दुर्व्यवहार समेत गरेका थिए । विमानस्थलको अति विशिष्ट कक्षमा झन्डै दुई घण्टा कुरेका सञ्चारकर्मीलाई भी.आई. पी. कक्षमा भेट्न समेत दिईएन ।

भेट्न न दिएपछि बहिष्कार गर्दै बाहिरिएका सञ्चारकर्मीले विमानस्थलवाट बाहिर समेत कुरा गर्न खोज्दा गठबन्धनका युवा दस्ताले राउतसंग कुरा गर्न भीड़मा गएका संचारकर्मीलाइ धकेलेर बाहिर नकालेको थिए । त्यसपछि प्रतिक्रिया लिन गएका सञ्चारकर्मीहरु आक्रोशित बनेर फर्किएका थिए । जनकपुर विमानस्थलमा भेला भएका गठबन्धनका सयौं नेता कार्यकर्ताहरु राउतलाई लिएर जनकपुरको प्रमुख मार्गको परिक्रमा गरेका थिए ।

बिभिन्न गीत घन्काउदै सिरहा, सप्तरी, महोत्तरी र धनुषावाट आएका नेता कार्यकर्ताहरु ट्याक्टर, जीप र मोटर साईकलमा जनकपुर नगरेको परिक्रमा गरेका थिए ।

२ सय मोटरसाइकल, तीन दर्जन बढ़ी जीप र डीजे सहितको केहि ट्याक्टरले स्थानीयवासीको ध्यान आफूतर्फ तान्न भने सफल भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.