सिकेलाई भित्राएर विप्लवलाई निषेध गरेर सरकारले गल्ती गर्‍याे: सिपी मैनाली

रिपोर्ट नेपाल | 2019 Mar 29 | 11:49 am 65

नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनाली नेपालको कम्युनिष्ट आन्दोलनका नायक हुन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष र कम्युनिष्टको संगठन विस्तारका क्रममा थुप्रै पटक लामो जेल जिवन विताएका मैनाली भद्र स्वभावका मानिन्छन् । राजनीतिक विश्लेषण गर्न अब्बल मानिने मैनाली आफूलाई लागेका कुरा ढुक्कसँग बताउँन सक्ने नेता हुन् । पूर्वउपप्रधानमन्त्री मैनालीसँग रिपोर्ट नेपालका लागि गरिएको संक्षिप्त कुराकानी प्रस्तुत गरेका छौं ।

सरकारले सिके राउतलाई तामझामका साथ भित्राउनु र नेत्रविक्रम चन्द नेतृत्व नेकपाको गतिविधि निषेध गर्नुलाई तपाईले कसरी लिनु भएको छ ?
सिके राउत स्वतन्त्र मधेसको नारा लगाएर चर्चामा आएका हुन् । उनी यतिखेर जनमत नामको पार्टी बनाएर अघि बढेका छन् । सरकार राउत मुलधारमा आएको भन्दै चर्को भाषण गर्दै हिडेको छ । सिके राउत हालका लागि पार्टी लिएर अघि बढ्न खोजे पनि उनको राणनीति यात्रा अर्कै छ । आफ्नो रणनीति सफल भएका दिन उनी आफ्नो मिसनमा फर्कने कुरामा दुविधा छैन । सरकार एकातर्फ सिकेलाई भित्राउछ त अर्का तर्फ नेत्रविक्रम चन्द समुहलाई घरपकड र निषेध गर्छ यो सरासर गलत काम हो । स्वयम् नेपाली सेनाले पनि धरकपडले समस्या समाधान नहुने निश्कर्ष निकालेको छ । निषेधको राजनीतिले मुलुकमा शान्ति होइन कि द्वन्द बढाउँछ भन्ने कुरा सरकाले बुझ्न जरुरी छ ।

हतियार बोकेर हिड्ने र चन्दा आतंक मच्चाउनेलाई छुट दिने त भनेर सरकारले त उल्टो प्रश्न गर्दैछ त ?
चन्द नेतृत्वको माओवादीले राखेको राजनीतिक मागलाई सम्बोधन गर्ने र गलत मागबारे जनतालाई बताउन पनि त सकिन्छ । तपाई आफैं भन्नुस् त निषेधले समाधान गर्छ कि द्वन्द निम्ताउँछ ? सरकारको निषेध कदमले द्वन्द र मुढभेढ निम्ताउने कुरामा दुईमत छैन ।

तपाईले सिके राउतले आफ्नो अभिष्ट पुरा भएपछि स्वतन्त्र मधेसकै पक्षमा लाग्ने इंकित गर्नुभयो त्यसो गरे सरकारले कारबाही गर्ने भन्दैछ त ?
सरकार सपनामा डुबुल्की मारिरहेको छ । आफ्नो मिसनका लागि कसैले सुरुमै यो गर्छु र त्यो गर्छु भन्छ त ! सिकेले संविधान मान्छु भनेर बाहिर नआए जेलमा बसेर मिसन पुरा हुन्छ ?

तपाईको विश्लेषणमा सरकारले सिकेसँग गरेको एघार बुँदे सहमति गलत हो ?
सहमतिपत्र गहन भएर अध्ययन गर्नुहोस् अनि तपाई आफै थाहा पाउनुहुनेछ । एघारबुँदे सहमतिपत्रमा कथित स्वतन्त्र मधेस कतै भट्टाउनु हुन्छ । सिकेको स्वतन्त्र मधेसको रणनीतिक यात्रालाई सरकारले बैधानीकता दिएको छ । दशौं बुँदा पढ्नुहोस् त सिकेलाई त्यो बुँदाले नैतीक अधिकार दिएको छ ।

तपाई सिकेसँग भएको संझौता र विप्लवलाई गरेको निषेध दुबैको विरोध गर्नुहुन्छ, सरकारले त जनताको जन धनको सुरक्षा गर्नुपर्यो होइन र ?
विप्लव समुहले एकीकृत क्रान्तिको नाममा हत्या हिंसाको राजनीति गर्नु गलत हो । जनताको जनधानको सुरक्षा गर्ने प्रमुख दायित्व सरकारको हो तर दायित्व पूरा गर्ने नाममा निषेध गर्नु चाही राम्रो हुँदै होइन ।

सरकार त वार्ता गर्ने भनेर धोका दिएको भन्दैछ त ?
ढोका थुनेर वार्तामा आउ भनेर केही पनि आउँदैन । सरकारले प्रतिवन्ध नलगाइकन वार्तामा बोलाउने र गलत कामलाई प्रशासनीक ढंगले नियन्त्रण गर्न सक्थ्यो । सरकारले त्यस्तो नगरेर शक्ति प्रगोग गर्दैछ यसले हिंसालाई बढावा दिन्छ । सरकारले निषेध गरेर ठूलो गल्ती गरेको छ । यसलाई पुर्नविचार गरेर अघि बढ्न जरुरी छ ।

प्रधानमन्त्री केपी ओलीले त ब्याक गेयर नलाग्ने भन्दैछन त ?
यस्तै अभिव्यक्तिले आक्रोस बढाउने काम गरेको छ । सरकारको गलत रबैयाले गर्दा मुलुक द्वन्दतिर उन्मुख भइरहेको छ । जुन ज्यादै चिन्ताको विषय हो । दश वर्षे द्वन्दले देश कति पछाडि धकेलियो भन्ने सोच्न जरुरी छ । हिजो शुरुका दिनमा वार्तालाई भन्दा दमनलाई प्राथमिकतामा राख्दा के भयो त्यता पट्टी सोच्नुपर्छ ।

प्रसंग बदलौं सरकारको काम कारबाही बारे भन्नुपर्दा तपाई के भन्नुहुन्छ ?
दुई तिहाइको समर्थनमा नेतृत्व गरेको केपी ओली नेतृत्वको सरकारले देशलाई गति देला र आर्थिक विकास होला भन्ने जुन सोच थियो त्यो सबै गलत सावित भयो । मुलुकमा रहेको कुशासनलाई सुशासनमा परिणत हुन्छ भन्ने लागेको थियो त्यो सबै भ्रममा परिणत भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.