सामाजिक सुरक्षा भत्ता काट्ने निर्णय नसच्याए आन्दोलन

रिपोर्ट नेपाल | 2020 Oct 19 | 08:43 am 120

काठमाडौं, कात्तिक ३ः विदेशमा सेवा गरी नेपाल र नेपालीको प्रतिष्ठा बढाएका अवकाश प्राप्त भारतीय, बेलायती र सिंगापुरका भूतपूर्व सैनिक तथा सिबिलियिन कर्मचारीलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने गरी हालै गरेको निर्णयप्रति नेपाल भूतपूर्व सैनिक संघले दुःख व्यक्त गरेको छ ।

संघका महासचिव सुबेदार मेजर मेघराज टण्डनले विज्ञप्ति जारी गरी विदेशी सरकारबाट निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान नगर्ने सरकारको निर्णयले आफूहरुलाई सरकारले अनागरिकसरहको व्यवहार गर्न खोजेको उल्लेख गर्नुभएको छ ।

संघले वीर गोर्खाली, भारतीय सेना, बेलायती सेना, सिंगापुर पुलिस, आसाम राइफल्स तथा अन्य देशबाट अवकाश प्राप्त भूतपूर्व सैनिकप्रति गर्न खोजिएको अनागरिक व्यवहार असह्य भएको जनाएको छ ।

गोरखा भूतपूर्व सैनिक तथा विदेशबाट अवकाश प्राप्त सिविलियन कर्मचारीहरुले विदेशमा गरेको सेवावापत राज्यले अर्बौंको रेमिटेन्स प्राप्त गरेको छ तर राज्यले त्यसलाई सकारात्मकरुपमा लिनुपर्नेमा उल्टै सामाजिक सुरक्षा भत्ता पाउने मापदण्डमा पर्ने नेपाली नागरिकलाई त्यसबाट वञ्चित गर्नु दुःखद पक्ष भएको संघले विज्ञप्तिमा भनेको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.