काठमाडौं, फागुन ३०: दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको छ। भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बंगलादेश सहभागी छन्।
डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने च्याम्पियनसिपको उद्घाटन खेलमा चैत १ गते नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छन्। यसैगरी नेपालले दोस्रो खेल बंगलादेशसँग चैत ४ गते खेल्नेछ। नेपालले चैत ७ गते फेरि भारत र चैत ९ गते बंगलादेशसँग खेल्नेछ। शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ।
मुख्य प्रशिक्षक दर्शनभक्त राजलवटले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्। उनले ३० सदस्यीय प्रारम्भिक टोलीबाट सात खेलाडी कटौती गर्दै टोली घोषणा गरेका हुन्। प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीमा सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिब्या मगर, दीपा शाही र हिमा रावत छन्। प्रितिले सिनियर टोलीको अनुभव पनि संगालिसकेकी छन्।
यसैगरी अन्य खेलाडीमा सरस्वती हमाल, सुनकला राई, अञ्जली मछामसी, सराह वज्राचार्य, जेनिफर राना, सरिष्मा थापा, सदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट