साढे २ करोड नेपालीको हातमा इन्टरनेट

| 2021 Feb 06 | 07:54 am 493

काठमाडौं, माघ २४ः कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुगेको छ । एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन ।

प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ ।

यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ ।

नेपाल टेलिकमको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.