सशस्त्रमा अनुगमन र मूल्यांकनका लागि छुट्टै इकाइ

| 2022 Apr 20 | 08:43 am 181

काठमाडौं, बैशाख ७ः सशस्त्र प्रहरी बल नेपालले अनुगमन तथा मूल्यांकन इकाइ स्थापना गरेको छ । केन्द्रदेखि तल्लो तहसम्मका इकाइबाट सम्पादित सांगठनिक कामकारबाहीको नियमित रूपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ सो इकाइ स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा स्थापना गरिएको सो इकाइले मंगलबारबाटै आफ्नो काम सुरु गरेको छ । यसका लागि दुई÷दुईवटा वाहिनीको अनुगमन तथा मूल्यांकनका लागि सो इकाइमा चारवटा डेस्क स्थापना गरिएको छ ।

सो इकाइ सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा स्पष्ट ढंगले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारबाहीको नियमित अनुगमन हुने, सबै तहका कमान्डरहरू हमेसा सतर्क रहने, फिल्डमा भएको काम कारबाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने विश्वास संगठनले लिएको छ ।

यस्तै, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमान्डर तथा जवानलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा स्पष्ट र प्रभावकारिता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटी–परेड, लेक्चर, रोलकललगायतका फौजी क्रियाकलापको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै कार्यसम्पादनमा प्रभावकारिता आई संगठनको उद्देश्य प्राप्तिमा योगदान पुग्ने विश्वास पनि सशस्त्र प्रहरीले लिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंगलबार आयोजित कार्यक्रममा सो इकाइको उद्घाटन गरे । उनले सो इकाइले अनुगमन क्रममा देखिएका सुधारका पक्षमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमितत कार्यहरुको समयमै अध्यावधिक गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अनुगमनका क्रममा देखिएका सुधारका पक्षमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमित कार्यहरूको समयमै अध्यावधिक गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक केसीले संगठनको सम्पूर्ण इकाइमा कार्यरत कमान्डर तथा सकल दर्जाले आआफ्नो पदीय दायित्व र जिम्मेवारीअनुसार सम्पादन गरेको कामकारबाहीको नियमित अनुगमन तथा मूल्यांकन हुने र सोही मूल्यांकनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्यांकनमा जोडिने हुँदा सरुवा बढुवालगायतका वृत्ति विकासमा कर्मचारी स्वयंले सम्पादन गर्ने कामकारबाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको पनि बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.