सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

| 2022 Apr 10 | 08:25 am 321

काठमाडौँ चैत २७ : सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो ।

यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा मात्रै सिफारिस गरिएपछि उनले अस्वीकार गर्दै आएका छन् ।

एक महिनाअघि नै न्याय परिषद्ले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, उनले न्यायाधीशमा नगई मुख्य रजिष्ट्रारमै रहने अडान राख्दै आएका छन् । अडानकैबीच कुँवर लामो समयदेखि बिदामा बसे । मुख्य रजिष्ट्रार कुँवरले आफू उच्च अदालतको न्यायाधीशमा नजाने भन्दै कामु प्रधानन्यायाधीशलाई निवेदन दिए । सर्वोच्चमा विदा सकेर पुनः मुख्य रजिष्ट्रारको काममा फर्किएका कुँवरलाई दुई दिनअघि कामु प्रधानन्यायाधीशले पाटन उच्च अदालतमा हाजिर हुन निर्देशन दिएका छन् ।

कामु प्रधानन्यायाधीश कार्कीले निर्देशन दिए पनि कुँवर उच्च अदालतमा नजाने अडानमा छन् । मुख्य रजिष्ट्रार कुँवरको अडानपछि कामु प्रधानन्यायाधीश कार्की अप्ठ्यारोमा परेका छन् । मुख्य रजिष्ट्रारको उपस्थितिमा आफूले सर्वोच्चमा काम गर्न नसक्ने भन्दै कामु प्रधानन्यायाधीश कार्की अबको तीन दिनभित्रमा पनि उच्च अदालतको न्यायाधीशमा हाजिर हुन नगए परिषद्बाट कारबाही थाल्ने तयारीमा रहेको सर्वोच्च स्रोतले बतायो ।

कामु प्रधानन्यायाधीश कार्की मुख्य रजिष्ट्रार कुँवरका कारण आफूअनुकूल काम गर्न सक्ने अवस्थामा छन् । कार्कीले आफू मुख्य रजिष्ट्रार पद न्यायाधीशको लिस्नो बनाउने पक्षमा आफू कहिल्यै नरहेको बताउने गरेका छन् । यसअघि पनि सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतको मुख्य न्यायाधीश बनाउँदा ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति जनाएका थिए । मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउन हुँदैन भन्ने पक्षमा रहँदै आएका कामु प्रधानन्यायाधीश कार्कीले योपटक आफ्नो नेतृत्वमा न्याय परिषद्को बैठकबाट कुँवरलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि १ फागुनमा संसद् सचिवालयमा महाअभियोग दर्तासँगै निलम्बनमा परेपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । कामु प्रधानन्यायाधीश भएसँगै उनले न्यायपरिषद् बैठक राखेर न्यायाधीश नियुक्ति र सिफारिस गरेका थिए । सर्वोच्च अदालतमा आफू नेतृत्वमा भएको न्यायाधीशको हडतालमा कर्मचारी तटस्थ बनेपछि आफूहरूलाई सहयोग नगरेको भन्दै मुख्य रजिष्ट्रार कुँवरलाई कामु प्रधानन्यायधीश कार्कीले कारबाहीस्वरूप न्यायाधीश नियुक्त गरेका हुन् ।

पदीय मर्यादाअनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार उच्च अदालतका न्यायाधीशभन्दा माथि अर्थात् मुख्य न्यायाधीशसरहको पद हो । यसअघि न्यायसेवाबाट मुख्य रजिष्ट्रार बनेका नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त भएका थिए । सोही पदमा रहेका दुई जनालाई मुख्य न्यायाधीशमा नियुक्ति गर्दा आफूलाई भने न्यायाधीशमा मात्रै नियुक्ति गरेको भन्दै मुख्य रजिष्ट्रार कुँवर असन्तुष्ट भएका हुन् । कुँवर उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरे भने स्वीकार गर्ने पक्षमा छन् । तर, उच्च अदालतको न्यायाधीश मात्रै भएर नजाने मुडमा छन् ।

कार्कीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारबाट हटाउन खोज्नुमा मुख्य कारण ८ कात्तिकदेखि प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीश र कानुन व्यवसायीले गरेको आन्दोलनमा साथ नदिनु प्रमुख कारण हो । ४० दिनसम्म प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनमा प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशबीच टसल बढेको थियो । मुख्य रजिष्ट्रारसहित सर्वोच्चका कर्मचारीहरूले साथ दिएका कारण प्रधानन्यायाधीश राणाले एकल इजलासमा मुद्दा सुनुवाइ गर्न थालेपछि न्यायाधीश अप्ठ्यारोमा परेका थिए ।

प्रधानन्यायाधीश राणा आफू कोरोना संक्रमित भएर सशस्त्रको अस्पताल भर्ना हुँदा समेत सोही ठाउँबाट अदालत चलाएका थिए । अस्पताल भर्ना हुँदा समेत राणाले न्यायाधीश दीपककुमार कार्कीलाई कार्यबहाक जिम्मेवारी दिएनन् । जसका कारण सर्वोच्चका न्यायाधीश झनै चिढिए । प्रधानन्यायाधीश राणा विवादित बन्दा पनि उनलाई मुख्य रजिष्ट्रार, रजिष्ट्रारलगायतका कर्मचारीले साथ दिएको भन्दै कामु प्रधानन्यायाधीश कार्की चिढिएका थिए । निलम्बित प्रधानन्यायाधीशले नियुक्त गरेको मुख्य रजिष्ट्रार भएका कारण काम गर्न नसकिने ठानेर कार्कीले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका हुन् । तर, न्यायाधीशमा नियुक्ति लिन मुख्य रजिष्ट्रार कुँवरले नमानेपछि सर्वोच्चमा विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ । आजको राजधानी दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.