सरकारमा सहभागी हुन लोसपा तयार

| 2022 Apr 01 | 07:14 am 217

काठमाडौँ चैत १८ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।

जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

सरकारमा सहभागी हुन र चुनावी तालमेलका लागि गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी गराउँदै ठाकुर र महतोले आफूहरूको माग सम्बोधन भए सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन सक्ने बताए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र ठाकुर, महतोबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलका क्रममा ठाकुर र महतोले नागरिकता समस्या समाधान गर्नुपर्ने, झुठा मुद्दा फिर्ता भए सरकारमा सहभागी हुन सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

लोसपा कार्यकारिणी बैठकमा स्थानीय तह निर्वाचन, पार्टीको विधान अधिवेशन, गठबन्धनका सर्त तथा सरकारमा सहभागिताजस्ता विषयमा छलफल भएको छ ।

लोसपा मधेस प्रदेश अध्यक्ष तथा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले देउवा सरकारमा सहभागी हुने’boutमा बैठकमा छलफल भएको बताए । ‘हामीले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार तयार भए संघीय सरकारमा सहभागिताका साथै चुनावी गठबन्धनमा समेत सहभागी हुन सक्छौं,’ सोनलले भने ।

यसबीच १८ चैतमा भारत भ्रमणमा गइरहेका प्रधानमन्त्री देउवा २० चैतमा स्वदेश फर्किएपछि थप छलफल अगाडि बढ्ने बताइएको छ । जसपा स्रोतका अनुसार प्रधानमन्त्री देउवा र जसपा नेताबीच सहमति भएपछि आगामी निर्वाचनमा गठबन्धन गर्ने र पार्टीको तर्फबाट तीन जना नेता संघीय सरकारमा मन्त्री हुनेछन् ।

लोसपाबाट शरतसिंह भण्डारी उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी र एकबाल मियाँ मन्त्री हुने चर्चासमेत भइरहेको छ । यसका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको एक÷एक मन्त्रीलाई फिर्ता बोलाउने योजनामा प्रधानमन्त्री देउवा रहेका छन् ।

प्रधानमन्त्रीले लोसपालाई गठबन्धनमा ल्याउने’bout छलफल गरे पनि सो विषयमा पाँच दलीय गठबन्धनमा छलफल भने भएको छैन । औपचारिक रूपमा सत्तारूढ गठबन्धनभित्र छलफल नभएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत एक सार्वजनिक कार्यक्रममा उल्लेख गरेका थिए ।

लोसपाले मधेस मुद्दा सम्बोधन, झुठा मुद्दा फिर्ता, नागरिकतालगायतका विषय उठाउँदै आएको छ । प्रधानमन्त्री देउवाले यी मुद्दा सम्बोधन गर्नेगरी सहमति गरेर सरकारमा सहभागी गराउने र अगामी निर्वाचनमा पाँच दलीय गठबन्धनमा सहभागी गराउने रणनीतिमा छन् । आजको राजधानी दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.