सफल तुल्याउने जिम्मेवारी असफलहरूलाई !

रिपोर्ट नेपाल | 2020 Nov 25 | 02:11 pm 148

■ देवप्रकाश त्रिपाठी

‘सफल’ शिद्ध हुन राजनीतिमा सहभागी हुनु र सफल प्रमाणित व्यक्ति राजनीतिमा प्रवेश गर्नु बीचको अन्तर बुझ्न सकियो भने नेपाल पछि पर्नुको एउटा महत्वपूर्ण कारणबारे जानकारी पाउन सकिन्छ । नेपाल र यस्तै चेतनास्तर भएका मुलुकमा मानिसहरू ‘सफल’ प्रमाणित हुनका लागि राजनीतिमा सहभागी हुने गरेको भेटिन्छन्, तर समृद्ध मुलुकमा आफ्नो क्षेत्रका सफल ब्यक्तिलाई राजनीतिक जिम्मेवारीमा रोजी-रोजी स्थापित गराइन्छ । वकालत, शिक्षण, सैन्य, पत्रकारिता, कलाकारिता, इञ्जिनियरिङ, ब्यापार, उद्यम आदि जुनसुकै पेशागत क्षेत्रमा सफल ब्यक्तिलाई राजनीतिक जिम्मेवारी दिइयो भने तिनले देशलाई पनि सफल बनाउन सक्छन् भन्ने विश्वास समृद्ध मुलुकका जनतामा पाइन्छ ।

संसारको एक सफलतम् मुलुक संयुक्त राज्य अमेरिकाको राजनीति तथा राजनीतिक जिम्मेवारी प्राप्त मानिसहरूको सूक्ष्म अध्ययन गरियो भने त्यहाँ आफ्नै जीवनमा असफल मानिस भेटिँदैनन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प एक सफल व्यापारी भएको जानकारी विश्व जगतलाई छ । यसअगाडिका राष्ट्रपति बाराक ओबामा प्रतिष्ठित वकिल थिए, लेखक, कुशल प्रशिक्षक र वक्ताका रूपमा पनि उनी चिनिन्थे ।

रोनाल्ड रेगन हलिउडका ख्याति प्राप्त कलाकार थिए भन्ने आम जानकारीको विषय हो । त्यसअघि रेगनलाई राम्रो रेडियो खेलकुद प्रस्तोताका रूपमा चिनिन्थ्यो । अमेरिकी इतिहासमा निराशाको समयका रूपमा बुझिने तीसको दशकका राष्ट्रपति फ्याङ्कलिन रूजवेल्ट (जसले अमेरिकी अर्थतन्त्र र न्याय प्रणाली सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए) ले बारको परीक्षा उत्तीर्ण गरेर पनि कानून ब्यवसायीका रूपमा काम गर्ने रुचि लिएनन् । उनी अमेरिकी समाजमा प्रतिष्ठित व्यक्ति थिए । अमेरिकाका अर्का स्मरणयोग्य राष्ट्रपति अब्राहम लिङ्कनको जीवन गरिबी र सङ्घर्षमा बितेको भए पनि उनी व्यावसायिक वकिल थिए । आत्मनिर्भर बन्न उनले जीवनमा गरेका कामको कथा बेग्लै छ, तर लिङ्कन आफ्नै जीवनमा असफल भएर राजनीतिमा सहभागी हुन आइपुगेका व्यक्तिमा पर्दैनन् । अमेरिकी इतिहासका अधिक लोकप्रिय मानिएका पैंतिसौँ राष्ट्रपति जोन एफ केनेडी अमेरिकी सेनाको अधिकृत थिए । दोस्रो विश्वयुद्धका क्रममा निर्वाह गरेको कार्य-कौशलका कारण केनेडी अनेकौँ मानपदवी र पुरष्कारबाट सम्मानित हुन पुगेका थिए । त्यस्तै, ब्रिटेनमा सबभन्दा सफल प्रधानमन्त्रीका रूपमा लिइने वीस्टन चर्चिल पनि राजनीतिमा सहभागी हुनुअघि गतिशील सैन्य अधिकृत थिए र, पछि उनलाई लेखकका रूपमा समेत चिन्न थालिएको थियो ।

रूसी पत्रकारद्वारा ‘आइरन लेडी’को विशेषण दिइएपछि संसारभरि आइरन लेडी भनेर चिनिएकी बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर राजनीतिमा सहभागिता जनाउनुअघि राम्रो केमिस्टका रूपमा चिनिन्थिन् र, पछि ब्यारिस्टर (Barrister) को भूमिकामा पनि सफल मानिएकी थिइन् । ओरालो लागेको बेलायती अर्थतन्त्रलाई माथि उठाउन र ट्रेड युनियानिज्मलाई तह लगाउन थ्याचरको योगदान अविष्मरणीय मानिन्छ ।

विद्यार्थी कालमा पढाइतिर ध्यान नदिएर राजनीतिक गतिविधिमा केन्द्रित रहेका, शिक्षक रहेछन् भने शिक्षण कर्ममा भन्दा राजनीतिमा ज्यादा समय ब्यतीत गरेका, आफ्नो मूख्य कर्ममा असफल भएका, कुनै सेवामा प्रवेश हुन परीक्षा दिँदा अनुत्तीर्ण भएका, बैंक र साहुले ऋणमा नपत्याएका, कुनै व्यवसायमा हात हालेर पनि असफल भएका, कर्ममा भन्दा ‘बकबक ब्यवसाय’मा सीमित रहेका व्यक्ति नेपालको राजनीतिमा हाबी छन् र, यिनले मतदातासमक्ष ‘गर्नुपर्ने जति’ होइन ‘भन्न सकिने जति’ कुराको चाङ लगाएर मत माग्ने गर्दछन् । केवल राजनीति मात्र गरेका मानिसमा छलकपट, षडयन्त्र, जालझेल र पद प्राप्त गर्ने तरिकाबारे राम्रो ज्ञान हुन सक्छ, देश बचाउने र बनाउने इमानदारीपूर्ण क्षमता र योग्यताको यिनमा सदैव अभाव रहन्छ ।

संसारका सबै समृद्ध मुलुकमा राजनीतिक नेतृत्व लिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने राजनीतिकर्मीहरू आफ्नो जीवनको अन्य विधामा पनि सफल व्यक्ति हुन् । जीवनको अन्य अर्थात् ब्यावसायिक विधा असफल व्यक्तिहरूलाई राजनीतिक जिम्मेवारी दिइएमा तिनले सफलतापूर्वक आफ्नो कार्य सम्पादन गर्न सक्छन् भन्ने विश्वास विकशित मुलकमा गरिँदैन । अमेरिकी निर्वाचन विधिको सर्वाधिक महत्वपूर्ण पाटो उम्मेद्वार छनोट प्रक्रिया (जसलाई ‘प्रेसिडेन्सिएल प्राइमरिज’ भनिन्छ, त्यो) निकै रोचक र गम्भीर हुन्छ । अमेरिकी प्रजातन्त्रमा पार्टीको भूमिका समन्वयकारी हुन्छ, हस्तक्षेपकारी भूमिका त्यहाँ कल्पना पनि गरिँदैन । पार्टीका तर्फबाट उम्मेद्वार बन्ने अधिकार प्रत्येक पार्टी सदस्यलाई रहन्छ र दावेदारहरू मध्येबाट उम्मेद्वार छनोट गर्ने प्रक्रिया निष्पक्ष र प्रजातन्त्रसम्मत हुन्छ, कुनै नेता या नेताहरूको खल्तिबाट कसैलाई उम्मेद्वार बनाउने कल्पना अमेरिकी प्रजातन्त्रले गरेको छैन । पार्टीका आम सदस्यसमक्ष उम्मेद्वारहरूलाई प्रस्तुत गरिन्छ र मतदान प्रक्रियाद्वारा उम्मेद्वारको टुङ्गो लगाइन्छ । प्राइमरिजका क्रममा उम्मेद्वारहरूको प्रस्तुतिका विषयवस्तु अर्को अनुकरणीय पाटो हो । उनीहरू मतदातासमक्ष प्रस्तुत हुँदा आफूले जीवनमा हासिल गरेका उपलब्धिहरूको विवरण सविस्तार सुनाउँछन् र, आफू एक सफल ब्यक्ति भएकोले राजनीतिक जिम्मेवारी प्राप्त भएमा अमेरिकालाई थप सफल बनाउन सकिने दाबी प्रस्तुत गर्छन् ।

उम्मेद्वारीका सबै दाबेदारहरूले आफ्नो ब्यावसायिक जीवनमा प्राप्त सफलता तथा आफूले पुऱ्याएको योगदानको विवरण सुनाइसकेपछि सफलहरू मध्येका एक व्यक्तिलाई उम्मेद्वार चयन गरिन्छ । मानौँ, एक पोल्ट्री व्यवसायी उम्मेद्वार बन्न चाहन्छ भने उसले भन्नेछ- ‘मैले यति वर्षअगाडि ‘यति’ हजार डलर लगानी गरेर ‘यति’ सय कुखुराबाट आफ्नो ब्यवसाय शुरू गरेको थिएँ । अहिले अमेरिकाको ‘यति’ वटा राज्यमा मेरा कुखुरा फार्म छन्, पचास हजार मानिसलाई मैले रोजगारी दिएको छु, राज्यलाई वार्षिक ‘यति’ रकम कर बुझाउँछु र कमाइको ‘यति’ प्रतिशत रकम मैले समाजसेवाका निम्ति छुट्याउने गरेको छु । त्यसैगरी अर्का उम्मेद्वार ब्यापारी रहेछन् भने उनले भन्नेछन्- ‘यति वर्षअगाडि बाह्र हजार डलर लगानीमा मैले किराना पसल (लघु स्टोर) खोलेर ब्यवसाय शुरु गरेको थिएँ, अहिले देशका पचासौँ शहरमा सुपरमार्केटको सञ्जाल स्थापना गर्न म सफल भएको छु । मेरो कम्पनीमा साठी हजारभन्दा बढीले रोजगारी पाएका छन् र, राज्यलाई मैले यति राजश्व बुझाउने गरेको छु । सामाजिक क्षेत्रमा समेत मैले आफ्नो मुनाफाको ‘यति’ प्रतिशत रकम खर्च गर्ने गरेको छु । म एक सफल व्यवसायी हुँ, मलाई तपाईंहरूले उम्मेद्वार बनाउनुभयो भने म मेरो देशलाई पनि थप उचाइमा पुऱ्याउन सक्नेछु ।’

वकालत, पत्रकारिता, शिक्षण, कलाकारिता, इञ्जिनियरिङ, चिकित्सा र अन्य पेशागत समुदायका मानिसले पनि आफ्नै जीवनमा हासिल भएका उपलब्धि र सफलताका विवरण सुनाएर मत माग्ने गर्दछन् । तर हाम्रो मुलकको राजनीतिमा सहभागिता जनाउनेहरूको कथा बेग्लै छ । विद्यार्थी कालमा पढाइतिर ध्यान नदिएर राजनीतिक गतिविधिमा केन्द्रित रहेका, शिक्षक रहेछन् भने शिक्षण कर्ममा भन्दा राजनीतिमा ज्यादा समय ब्यतीत गरेका, आफ्नो मूख्य कर्ममा असफल भएका, कुनै सेवामा प्रवेश हुन परीक्षा दिँदा अनुत्तीर्ण भएका, बैंक र साहुले ऋणमा नपत्याएका, कुनै व्यवसायमा हात हालेर पनि असफल भएका, कर्ममा भन्दा ‘बकबक ब्यवसाय’मा सीमित रहेका व्यक्ति नेपालको राजनीतिमा हाबी छन् र, यिनले मतदातासमक्ष ‘गर्नुपर्ने जति’ होइन ‘भन्न सकिने जति’ कुराको चाङ लगाएर मत माग्ने गर्दछन् । केवल राजनीति मात्र गरेका मानिसमा छलकपट, षडयन्त्र, जालझेल र पद प्राप्त गर्ने तरिकाबारे राम्रो ज्ञान हुन सक्छ, देश बचाउने र बनाउने इमानदारीपूर्ण क्षमता र योग्यताको यिनमा सदैव अभाव रहन्छ । राजनीति मात्र गरेका, कुनै पेशा ब्यवसायमा संलग्न नभएका या भएर पनि पूर्णतः असफल हुन पुगेका व्यक्तिहरूमाथि भर पर्नु पनि असफलततालाई नै स्वागत गर्नु हो भन्ने चेत हामीमा हुनुपर्दछ । नेपाली राजनीतिकर्मका दुई पात्रलाई यहाँ दृष्टान्तका रूपमा प्रस्तुत गर्न सकिन्छ । बाबुराम भट्टराई, जसले इञ्जिनियरिङ विषय त पढे तर आफ्नो व्यवसायमा स्थापित हुन सकेनन् । गगन थापा, जसले के विषयमा औपचारिक शिक्षा हाशिल गरे जानकारीको विषय रहेन । वक्तृत्व कलामा सफल र व्यवसाय (बाख्रापालन र मासु व्यापार) मा पूर्ण असफल हुन् यिनी । त्यसैले यिनलाई समेत सफल मानिसका रूपमा ग्रहण गर्न सकिँदैन ।

अख्तियार केही वर्षयता पूर्वकर्मचारीहरूको क्लब बनेको छ, त्यहाँ नियुक्त हुने शर्त पनि कर्मचारीहरूले आफैंलाई मिल्ने गरी निर्धारण गरेका छन् । ‘शक्तिकेन्द्रलाई ढोग्ने र बाँकी सबैलाई ठोक्ने’ चरित्रलाई कर्मचारीतन्त्रले आफ्नो संस्कार, संस्कृति र परम्परा बनाएको छ । आफ्नो प्रतिकुल कुनै निर्णय हुन लागेमा अख्तियार देखाएर राजनीतिजीवीलाई तर्साउने काम पनि यिनैले गर्दछन् ।

समृद्ध मुलकका उम्मेद्वारको भन्दा हाम्रा उम्मेद्वारहरूको मत माग्ने शैली ठ्याक्कै विपरीत हुने गर्छ । सबै पार्टीका उम्मेद्वार नेताविशेषको कृपाबाट बनेका/बनाइएका हुन्छन् । हरेक नेता अर्को पक्षलाई गलत सावित गर्न यति समय र सामथ्र्य र खर्च गर्छन् कि आफूचाहिँ किन योग्य र उपयुक्त हो भन्न पनि बिर्सन्छन् । नेपाली नेताको मन्तव्य यसरी प्रस्तुत हुने गर्छ- ‘हेर्नुस्, विद्यार्थीकालदेखि नै म राजनीतिमा लागेँ, पढ्न सकिएन । लामो समय हिरासत र जेलमा बिताइयो, श्रीमती (या श्रीमान्) समेत खोज्न भ्याइएन, पार्टीले भिडाइदिएकोसँग जसोतसो जीवन गुजार्दै छु । जसोतसो सर्टिफिकेट हात पारेर योग्यताअनुसारको काम गर्नु पऱ्यो भन्दा सेवा आयोगको परीक्षामा पनि मलाई अनुत्तीर्ण गराइयो र, बैंकबाट ऋण लिएर कुनै व्यवसाय शुरु गर्न खोज्दा बैंकले पनि मलाई पत्याएन, साहुले पत्याउले कुरै भएन । पन्ध्र वर्षदेखि एउटै कोट लगाएर हिँड्न बाध्य छु, पाँच वर्षदेखि एक जोर जुत्ता टालटुल गरेर चलाउँदैछु । तीस वर्षभन्दा बढि भयो मैले अर्काको झोला बोकेर हिँडेको ! अब पनि मैले ‘मौका’ नपाए कहिले पाउने ? मैले सत्ता पाएँ भने म नेपाललाई सिङ्गापुर, जापान, स्वीटजरल्याण्ड बनाउने छु । कृपया मलाई एउटा ‘मौका’ दिनुहोस् ।’

जीवनका सबै विधामा असफल भएका मध्येबाट एउटा ‘असफल’लाई हामी चुन्छौँ र देश सफल बनाउने जिम्मेवारी दिन्छौँ । आफैंमा असफलहरूलाई देश सफल बनाउने जिम्मेवारी सुम्पने हामी आफैं कति योग्य र चेतनशील हौँ, एकपटक आत्मसमीक्षा गर्न विलम्ब भइसकेको छ ।

हो, देश असफल हुनुका अनेकौँ कारण छन् । नेपाल शान्त, स्थिर, सभ्य र समृद्ध बन्न नसक्नुका कारण खोजियो भने मूलतः सात कारण भेटिन्छन् । इमानदार, कर्मशील, दूरदर्शी र प्रतिबद्ध नेतृत्वको अभाव (१), आत्मकेन्द्रीत, स्वार्थी र भ्रष्ट कर्मचारीतन्त्र (२), जनताको रोगी चेतनास्तर (३), साधन र श्रोतको अभाव (४), नीति, कार्यक्रम र कार्यशैली गलत (५), योग्यता र ब्यावसायिकता निरुत्साहित गरी सर्वत्र पार्टीकरण (राजनीतिकरण) (६) तथा संस्थागत बन्दै गरेको भ्रष्टाचारलाई अधोगतिको मूल कारण मान्न सकिन्छ । स्थायी संयन्त्रको रूपमा काम गर्नुपर्ने कर्मचारीहरूले केही दशकयता संयन्त्र होइन आफूहरूलाई ‘स्थायी सरकार भएको’ दाबी गर्न थालेका छन् । राजनीतिक निकायले तर्जुमा गर्नुपर्ने नीति, नियम र कानुन कर्मचारीले नै गर्दै आएका छन् ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा भ्रष्टाचारमा रमाउनेहरू डराउने र गिरिजाप्रसाद कोइराला या शेरबहादुरहरू प्रधानमन्त्री बनेका बेला इमान्दारीसँग डराउनेहरू उत्साही बन्ने कारणले पनि नेतृत्वमा राम्रा मानिस हुनु र नहुनु बीचको अन्तर बुझाउँछ ।

नीति-नियम र कार्यक्रमको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने कर्मचारी केवल आफ्नै हितमा मात्र सीमित छन् । आफ्नो प्रतिकुल कुनै निर्णय हुन लागेमा अख्तियार देखाएर राजनीतिजीवीलाई तर्साउने काम पनि यिनैले गर्दछन् । अख्तियार केही वर्षयता पूर्वकर्मचारीहरूको क्लब बनेको छ, त्यहाँ नियुक्त हुने शर्त पनि कर्मचारीहरूले आफैंलाई मिल्ने गरी निर्धारण गरेका छन् । ‘शक्तिकेन्द्रलाई ढोग्ने र बाँकी सबैलाई ठोक्ने’ चरित्रलाई कर्मचारीतन्त्रले आफ्नो संस्कार, संस्कृति र परम्परा बनाएको छ । तथापि, कर्मचारीतन्त्रका कारणले मात्र देश असफलताको बाटो लागेको निष्कर्षमा पुग्नु भने उचित होइन । जीवनका सबै विधामा असफल मानिसलाई देश सफल बनाउने अभिभारा सुम्पने हाम्रो परम्परा नै असफलताको मूख्य कारण हो, करेक्सन पनि यही बिन्दुबाट शुरू हुनुपर्ने देखिन्छ ।

नेतृत्वले देशमा कति फरक पार्छ भन्ने कुराको दृष्टान्त अन्तर्राष्ट्रिय जगतमा अनगिन्ती फेला पार्न सकिन्छ । नेपालमा दर्जन राजाहरूमध्ये पृथ्वीनारामण शाह र महेन्द्र, नौ जना राणा प्रधानमन्त्रीमध्ये जंगबहादुर, चन्द्र शमशेर र देव शमशेर तथा तीन दर्जन प्रधानमन्त्रीहरू मध्ये बीपी कोइराला, कीर्तिनिधि र कृष्णप्रसाद भट्टराईलाई मात्र विशेष स्मरण गर्नुपर्ने कारण खोजियो भने पदले नभइ कार्य-परिणामले मानिसलाई स्मरणीय बनाउँछ भन्ने पुष्टि हुन्छ । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा भ्रष्टाचारमा रमाउनेहरू डराउने र गिरिजाप्रसाद कोइराला या शेरबहादुरहरू प्रधानमन्त्री बनेका बेला इमान्दारीसँग डराउनेहरू उत्साही बन्ने कारणले पनि नेतृत्वमा राम्रा मानिस हुनु र नहुनु बीचको अन्तर बुझाउँछ । दूरदर्शी, इमानदार, योग्य र आफ्नै जीवनमा सफल ब्यक्ति या व्यक्तिहरूले नेतृत्व गरेको अवस्थामा मात्र देश सफल हुन सक्ने र असफलहरूको हातमा देश रहेसम्म सफलता असम्भव हुने तथ्य अब पनि बोध हुन सकेन भने नेपालीको भागमा पर्ने भनेको केवल असफलता मात्र हो । जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.