सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

| 2022 Apr 01 | 07:24 am 377

काठमाडौँ चैत १८ : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन र विपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बिहीबार गठबन्धनभित्र मात्रै तालमेल गर्ने निर्णय गरेको छ ।

‘स्थानीय निर्वाचनमा गठबन्धन दलबीच मात्रै तालमेल गर्ने निर्णय भएको छ, अब अन्य दलसँग तालमेल हुँदैन,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा एमालेले एक्लै करिब ४० प्रतिशत स्थानीय तहमा जितेको थियो । यस पटक तालमेल नभए जित्न कठिन हुने आकलन गर्दै गठबन्धन दलहरू मिलेर निर्वाचन लड्ने निष्कर्षमा पुगेका हुन् । एमालेले मूलतः एक्लै चुनाव लड्ने निर्णय गरे पनि स्थानीय आवश्यकताअनुसार तालमेलको ढोका खुला राखेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले तालमेल गर्ने निर्णय लिएपछि एमालेलाई पनि वैकल्पिक गठबन्धनको ढाँचामा काम गर्न दबाब बढेको छ । तर, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एक्लैले गठबन्धनको सामना गर्ने बताए । ‘सत्ता गठबन्धनको निर्णय नौलो होइन, महिनौंदेखि भनिरहेको कुरालाई उहाँहरूले दोहोर्‍याएको मात्रै हो, यसले हामीलाई कुनै दबाब पर्ने कुरा भएन, मूलतः हामी एक्लै लड्छौं,’ उनले भने, ‘गठबन्धन टेस्टेड हो । गत निर्वाचनमा पनि हामी एक्लै लडेर सफलता हासिल गरेका थियौं । अहिले झन् बलियो भएका छौं । त्यसकारण गठबन्धनबाहेकका दलसँग पनि हामी राष्ट्रिय रूपमा तालमेल गर्दैनौं । स्थानीय तहमा आवश्यकताअनुसार तालमेल गर्ने कुरालाई रोक लगाएका छैनौं ।’

सत्ता गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जस्तै स्थानीय तहमा पनि संयुक्त रूपमा चुनाव लड्ने निर्णय भएको जानकारी दिए । निर्वाचनको समग्र परिस्थितिबारे केन्द्रमा छलफल हुने र वस्तुस्थितिबारे अध्ययन गर्न प्रदेश, जिल्ला र पालिका तहमा पाँचै दलका प्रतिनिधि सम्मिलित संयन्त्र बन्ने उनले बताए । सरकारका प्रवक्तासमेत रहेका कार्कीले गठबन्धनमा रहेका पार्टीका तहअनुसारका प्रमुखहरू सम्मिलित संयन्त्रले २१ चैतसम्म केन्द्रमा विश्लेषणात्मक प्रतिवेदन बुझाएपछि भागबन्डालगायतका विषयमा छलफल हुने जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंगलबार स्थानीय निर्वाचनमा आवश्यकता र परिस्थितिअनुसार तालमेल गर्ने निर्णय लिएपछि बसेको गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चा पनि सहभागी भएको छ । एमसीसी अनुमोदन गर्ने निर्णयमा आपत्ति जनाउँदै जनमोर्चाले गठबन्धन छाडेको घोषणा गरेको थियो ।

‘तीन तह (प्रदेश, जिल्ला र पालिका) का संयन्त्रले पाँच दिनभित्र पालिका तहमा कसको प्रभाव कस्तो छ भन्ने रिपोर्ट बुझाउने छन्, त्यसको आधारमा अगाडि बढ्ने काम हुन्छ,’ एकीकृत समाजवादीका महासचिव भुसालले भने । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकिएपछि सत्ता साझेदार दलको अर्को बैठक चैत २१ मा बस्ने सहमति भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा तीनदिने भ्रमणका लागि शुक्रबार भारत जाँदै छन् ।

उता, प्रमुख प्रतिपक्षी एमालेले सत्ता गठबन्धनको निर्णय प्रभावकारी नहुने दाबी गरिरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले एकअर्कालाई विश्वास दिलाउने कोसिस गरेका छन् । राजधानीमा बिहीबार भएको एक कार्यक्रममा देउवा र दाहालले गठबन्धन बनाएर चुनाव लड्ने र एकअर्काको सहयोग हुने विश्वास दिलाएका हुन् । ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन, वास्तवमा भन्ने हो भने अरू पार्टीका नेताहरूले सहयोग गर्नुभएको छ, उहाँहरूले गर्नुभएको सहयोगले अझ बढी एकताबद्ध रूपमा गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ देउवाले भने, ‘अप्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरूको हो, भाग्ने होइन । हामी अप्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौं ।’

सोही कार्यक्रममा दाहालले गठबन्धनबीचमा दुविधा नरहेको बताए । ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिबाट पनि करिब–करिब गठबन्धनलाई कायम राखेर जाने भनिसकेपछि अब हामीभित्र दुविधा छैन, हामी मिलेर जान्छौं,’ उनले भने, ‘हामीले आउने निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रूपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्व र एकतालाई प्रवर्द्धन गरोस् भन्ने हो ।’ २०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच धेरै ठाउँमा तालमेल भए पनि व्यवहारतः प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।

एमाले उपमहासचिव ज्ञवालीले भने सत्तारूढ दलहरूले देशैभर गठबन्धन गर्ने निर्णय गरे पनि कार्यकर्ताले अवज्ञा गर्ने दाबी गरे । ‘गठबन्धन गर्नु भनेको उहाँहरूको कमजोरीको प्रतीक हो, जुन ढंगले उहाँहरूले माथिबाट तालमेल गरेर जाने कुरा गर्नुभएको छ, त्यसले तलका कार्यकर्ताको भावनामा ठेस पुर्‍याउँछ र धेरै ठाउँमा त्यसको अवज्ञा हुन्छ भन्ने प्रस्ट छ,’ उनले भने, ‘यद्यपि त्यो हाम्रो सरोकारको कुरा भएन । हामी हाम्रो एजेन्डा लिएर जान्छौं र सफलता प्राप्त गर्छौं ।’

कांग्रेसले महानगरमा तालमेलको टुंगो केन्द्रबाटै लगाउने निर्णय गरिसकेको छ । अन्य उपमहानगर र नगरपालिकामा प्रदेश र गाउँपालिकामा जिल्ला तहबाट उम्मेदवार चयन गर्ने उसको निर्णय छ । गठबन्धन दलले भने बाँडफाँटको विधि तय गरिसकेका छैनन् तर अघिल्लो निर्वाचनमा जुन दलले जितेको छ, त्यसमा उसैले दाबी गर्ने र एमालेले जितेका स्थानमा मात्रै भागबन्डा हुने सम्भावना छ । आजको कान्तिपुर दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.