सडक विभागका सुपरीटेन्डेन्ट इन्जिनियर यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

रिपोर्ट नेपाल | 2020 Jul 06 | 05:02 pm 71

काठमाडौं, असार २२ः सोमबार सडक विभागका तत्कालीन सुपरीटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त यादवविरूद्ध एक करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यादवले पदमा रहँदा भ्रष्टाचार गरेको अनुसन्धानमा खुलेपछि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार उनको वैध आयभन्दा बढी सम्पत्ति जोडेको देखिएको छ।

यादवले २०३६ सालमा ओभरसियरबाट जागिर सुरू गरेका थिए। उनले खर्च तथा लगानीमा २ करोड ८७ लाख ८६ हजार ४ सय ६८ रुपैयाँ खर्च गरेको देखिन्छ।

तर, उनको वैध आय भने एक करोड २ लाख ७४ हजार ७ सय ३९ मात्र देखिएको छ।

कोइरालाका अनुसार २०७४ साल फागुन १६ गते यादवले अवकाश पाएका थिए।

गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको उजुरी आएपछि अख्तियारले यादवको सम्पत्ति स्रोत खोज्न थालेको थियो।

यादवले २०७४ फागुन १६ गतेसम्म कमाएको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो। अनुसन्धानमा पारिश्रमिक बचतमा २७ लाख ४६ हजार ६ सय ३७ रुपैयाँ देखिएको छ।

यस्तै, दुर्गम तथा स्थानीय भत्ताबापत ३ लाख ८ हजार ४ सय २, कृषि आयमा २६ लाख ८५ हवार ७ सय , कर्जा आइ ३६ लाख ५६ हजार ९ सय, कर्जाको मौज्दात ८ लाख ७७ हजार १ सय आर्जन गरेको देखिएको छ।

यही अवधिमा श्रीमती र छोरीको नाममा ३२ लाख २४ हजार २ सय ५०, घरमा ९२ लाख २४ हजार २ सय ५०, फर्निसिङ्ग, फर्निचर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल सामग्रीसहितमा ९२ लाख ८३ हजार ४ सय ६४, कर्जा चुक्ता प्रयोजनमा ३१ लाख ४८ हजार २ सय ४, कर्जा बैंक मौज्दातमा ८ लाख ७७ हजार १ सय, पूँजीगत लाभकरमा ५० हजार रुपैयाँ देखिन्छ।

शैक्षिक खर्च ८० लाख ५९ हजार ४ सय १६, शेयर खरिदमा १५ हजार ७ सय, नेपाल एसबिआई बैंक ३५ लाख ५० हजार र बैंक खाताहरुमा मौज्दात ५ लाख ७८ हजार ३ सय ३३ देखिन्छ। जुन, आयभन्दा बढी खर्च हो।

अभियोग पत्रमा यादवले गैरकानुनी आर्जन गरेको सम्पत्ति जफत गरी कारबाही गर्न माग गरिएको छ।

यस्तै, ललितपुर कोन्ज्योसोम गाउँपालिका ५ का इन्जिनियर शिरोमणि ढकाल र सव इन्जिनियर अशोक रोकायविरूद्ध १५ लाख ५७ हजार ९ सय ८२ रुपैयाँ बिगो कायम गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विद्यालय भवनको आरसिसी संरचनामध्ये भवनको पिलर, बिम ढलान, कम्प्रेसिभ स्ट्रेन्थमा तोकिएको भन्दा न्यून गुणस्तर कायम गरी निर्माण गरिएको अनुसन्धानमा खुलेपछि दुवैलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.