काठमाडौँ चैत २५ : अब संस्थागत माध्यमबाट वैदेशिक रोजगारको लागि जानेहरूले पनि अनलाइन माध्यमबाट नै श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले बैशाख २ गतेदेखि लागू हुने गरि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी दिएको हो ।
कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिनै संस्थागत श्रम स्वीकृति दिने व्यवस्था गरिएको जनाएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ ।