श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

| 2022 Mar 27 | 06:40 pm 601

सिराह, चैत १३ः सिराह जिल्लाको लहान नगरपालिका १ स्थित मटिअर्वाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ बर्षीय दिलिप कुमार साहलाई पक्राउ गरेको छ । विषेश सूचानाको आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा रहेको उक्त रुपैयाँको निजले
श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

अफिमसहित एक जना पक्राउ
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ किलाे १ सय ४० ग्राम अफिमसहित बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ७ बस्ने ४० बर्षीया रिना देवीलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले विषेश सूचनाको आधारमा जाँच गर्दा उनको साथमा उक्त परिमाणको अफिम फेला पारिएको हो । पक्राउ परेकी उनलाई बरामद अफिमसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

ठुलो परिमाणको गाँजा बरामद
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित चन्द्रनगर ईलाकाबाट सशस्त्र प्रहरीले करीव ७५ किलाे गाँजा बरामद गरेको छ । सोही ठाउँको एक झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।

आगलागी नियन्त्रयण
सर्लाही जिल्लाको धनकैल गाउँपालिका ५ हरकटुवास्थित भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।  सोही ठाउँ बस्ने प्रदीप हजारीको घरमा विधुतीय तार सर्ट भई आगलागी हुँदा निजको घर नजिकै रहेको ११ वटा फुसले छाएको कच्ची घर तथा दुई वटा टायलले छाएको पक्की घर समेत गरी जम्मा १४ वटा घरहरु जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराबाट सशस्त्र प्रहरी निरीक्षक प्रधुन्न थापाको कमाण्डमा खटिएको टोली उक्त आगलागी नियन्त्रणमा सक्रियताकासाथ जुटेको थियो ।

 बिभिन्न सामान बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित कालीखोला ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस
बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबा सशस्त्र प्रहरी बल नेपाल बिओपी औरैयाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ ।

त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका ३ स्थित नक्टाझिज चोकबाट एक यात्रुबाहक बसमा चेक जाँच गर्दा वेवारीसे अवस्थामा रहेको करीव १ लाख ८० हजार रुपैयाँ बराबरको ३ सय किलाे.पाउडर दुध सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ ।

यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित बिरगंज पथलैया सडकखण्डबाट प्रज्ञापन पत्र बिनानै ना ७ ख ३४१० नम्बरको ट्रक र ना ५ ख ९२८० नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको करीव २६ लाख २५ हजार रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । त्यसबेला उक्त दुबै ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

अबैध काठ बरामद
सर्लाही जिल्लाको हरिपुर नगरपालिका १ स्थित जानकीनगर ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको ३७ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । प्रदेश नम्बर २–०३–००१ त २३८५ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको उक्त गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ तथा ट्याक्टर सवडिभिजन बन कार्यालय लालबन्दीमा बुझाईएको छ ।

यसैगरी बारा जिल्लाको कोल्हवी नगरपालिका ५ स्थित ककडी ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख  रुपैयाँ बराबरको सिसौंको काठ बरामद गरेको छ । सो ठाउँको झाडीमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश कोल्हवीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सवडिभिजन बन कार्यालय बारामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.