श्रीलङ्काबाट सिक्नुपर्ने पाठ

| 2022 Apr 06 | 03:38 pm 217

ब्यक्ति मात्रै धनी भएर केही हुँदैन राज्य नै धनी हुनुपर्छ भन्ने कुराको सन्देश श्रीलङ्काको विपद्ले दिएको छ । देश खोक्रो बनाएर आफू मात्रै सम्पन्न बन्दाको परिणाम केसम्म हुन सक्छ भन्ने कुरा हाम्रो देशका नेता र कर्मचारीहरूले बुझ्नु आवश्यक छ ।
  • बबिता बस्नेत

‘आफ्ना गल्तीहरूबाट मात्रै सिक्नका लागि तिमीसँग जीवन सधैं रहँदैन, त्यसैले अरुको गल्तीबाट सिक ।’ दक्षिण एशियाली सुन्दर मुलुक श्रीलङ्कामा अहिले जे भइरहेको छ त्यो हेर्दा चाणक्यले यो भनाइ हाम्रै लागि बोलिदिएका थिए कि जस्तो लागिरहेको छ । २६ वर्षसम्म लगातारको युद्ध भोगेको श्रीलङ्कामा सन् २००९ पछि धेरै परिवर्तन आएको थियो । सफा सडक, झिलिमिलि बत्ति, राति अबेलासम्म समूद्रको किनारमा बसिरहेका या सडकमा हिँडिरहेका मानिसहरू देख्दा दक्षिण एशियाली मुलुकमा नभइ आफू युरोप, अमेरिकातिर भएको महसूस हुन्थ्यो । विभिन्न कार्यक्रमको सिलसिलामा यो पङ्क्तिकार तीन पटक श्रीलङ्काको राजधानी कोलोम्बो पुगेकी छु । सन् २००२ मा पहिलोपल्ट श्रीलङ्का पुग्दा परिस्थिति फरक थियो । साँझ ६ बजे कर्फ्यू लाग्थ्यो । समुन्द्रको किनार या बजार जहाँ गए पनि ६ बजेभित्र बासस्थान फर्किसक्नु पर्थ्यो । लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)ले सन् १९८३ मा स्वतन्त्र तमिल राज्यको माग राख्दै गरेको आन्दोलनमा विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब एक लाख मानिस मारिएका थिए । सन् २००९ मा विद्रोहीका नेता भेलुपिल्लाई प्रभाकरण तथा उनका प्रमुख सहयोगीहरूलाई मारेपछि श्रीलङ्कामा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो ।

शिक्षा, स्वास्थ्य, वातावरण सबैमा अगाडि रहेको श्रीलङ्का हेर्दाहेर्दै आँखैअघिल्तिर एक छाक खानका लागि हारालुछ गर्नुपर्ने अवस्थामा पुग्यो । केही दिनअघि कोलोम्बोमा बस्ने एक श्रीलङ्कन साथीले भनेकी थिइन्- ‘हेर न, मसँग पैसाको खाँचो छैन तर पेट्रोल नभएर गाडी थन्किएको छ, बिरामी आफन्तको अप्रेशन गर्न पाइएन, भान्सामा सामान सकिँदै छ । के खाने, कसरी जीवन धान्ने अवस्थामा पुग्यौँ । ब्यक्ति धनी भएर नहुने रहेछ, राष्ट्रसँग पैसा नभएपछि सबैको अवस्था उस्तै हुने रहेछ ।’

आर्थिक रूपमा राष्ट्र विपन्न भएपछि ब्यक्ति सम्पन्न हुनुले कुनै अर्थ राख्दैन रहेछ भन्ने कुराको उदाहरण बनेको छ श्रीलङ्का । २६ वर्षको द्वन्द्वमा आर्थिक सङ्कट र आपतकाल नभोगेका श्रीलङ्कनहरू आफूले नेता मानेका ब्यक्तिहरूको अकर्णमण्यताका कारण आज नाजुक अवस्थामा पुगेका छन् ।

उनीसँग कुरा गरेको दुई दिनमैं श्रीलङ्कामा इन्टरनेट बन्द गरियो । दुई करोड २५ लाख जनसङ्ख्या भएको श्रीलङ्कामा एक्कासी यस्तो परिस्थितिको सिर्जना भएजस्तो लागे पनि यो एक्कासी भएको भने होइन । राज्य सञ्चालनको बागडोर सम्हालेका नेताहरूले राष्ट्रको नाममा ऋणमाथि ऋण लिएर त्यो ऋणको उचित स्थानमा लगानी नगर्दा यो परिस्थिति सिर्जना भएको हो ।

हामीकहाँ पनि सरकार फेरिएपिच्छे वैदेशिक ऋण लिन होडबाजी गर्ने गरिएको छ । ऋण लिन सजिलो होस् भनेर पूर्व गभर्नरलाई अर्थमन्त्रीमा नियुक्ति गरिएको इतिहास पनि हामीसँग छ । हामी पनि वैदेशिक ऋणले थिचिँदै गएका छौँ । वैदेशिक ऋण लिन हुाँदैन भन्ने होइन, लिन हुन्छ तर त्यो ऋण केमा लगानी गरियो ? फाइदा हुने या राजश्व उठ्ने परियोजनामा लगानी भइरहेको छ कि छैन ? खर्च कसरी गरियो या गरिँदै छ भन्ने प्रमुख कुरा हो । हामीले लिएको ऋण उत्पादन हुने ठाउँमा खर्च भइरहेको छैन । यदि ऋण लिएर सरकार चलाउने, प्रदेश र पालिकाहरू चलाउने काम हुने हो भने हामी र श्रीलङ्काबीच परिस्थितिको दूरी लामो हुने छैन । त्यसैले हामीले लिएको वैदेशिक ऋण कति छ ? डलर मौज्दात कति छ ? राज्यले केमा खर्च गरिरहेको छ ? जनताले यो विषयमा जानकारी पाउनुपर्छ । हाम्रो ऋण कति छ ? त्यो के-केमा लगानी भइरहेको छ ? ब्याजको अवस्था के छ ? हामीले समयमा तिरिरहेका छौँ कि छैनौँ ? जस्ता सवालबारे अर्थमन्त्रालयले सर्वसाधारण नागरिकले बुझ्नेगरी जानकारी गराउनुपर्छ ।

यदि ऋण लिएर सरकार चलाउने, प्रदेश र पालिकाहरू चलाउने काम हुने हो भने हामी र श्रीलङ्काबीच परिस्थितिको दूरी लामो हुने छैन । त्यसैले हामीले लिएको वैदेशिक ऋण कति छ ? डलर मौज्दात कति छ ? राज्यले केमा खर्च गरिरहेको छ ? जनताले यो विषयमा जानकारी पाउनुपर्छ ।

रातभर झलमल्ल बत्ति बल्ने कोलोम्बो शहरमा अहिले घण्टौँ लोडसेडिङ छ, सडक बत्तिहरू बन्द गरिएका छन् । बढ्दो महँगी मात्र होइन महँगोमा सामान किन्न पाउने अवस्था छैन । खाना पकाउने ग्याँस, दुध, खाद्यान्न जस्ता आधारभुत आवश्यक्ताका लागि श्रीलङ्कन जनता अभावको लडाइँ लडिरहेका छन् । आर्थिक रूपमा राष्ट्र विपन्न भएपछि ब्यक्ति सम्पन्न हुनुले कुनै अर्थ राख्दैन रहेछ भन्ने कुराको उदाहरण बनेको छ श्रीलङ्का । २६ वर्षको द्वन्द्वमा आर्थिक सङ्कट र आपतकाल नभोगेका श्रीलङ्कनहरू आफूले नेता मानेका ब्यक्तिहरूको अकर्णमण्यताका कारण आज नाजुक अवस्थामा पुगेका छन् । के प्राध्यापक, के डाक्टर, विद्वान्, ब्यापारी, सर्वसाधारण सबैको अवस्था उस्तै छ । जब गुडाउनका लागि पेट्रोल नभएपछि महँगा गाडीको के काम ? ब्यक्ति मात्रै धनी भएर केही हुँदैन राज्य नै धनी हुनुपर्छ भन्ने कुराको सन्देश श्रीलङ्काको विपद्ले दिएको छ । देश खोक्रो बनाएर आफू मात्रै सम्पन्न बन्दाको परिणाम केसम्म हुन सक्छ भन्ने कुरा हाम्रो देशका नेता र कर्मचारीहरूले बुझ्नु आवश्यक छ ।

राजनीतिक नेतृत्व कमजोर भयो भने देश कमजोर हुन्छ । सरकारले लिने आर्थिक नीतिमा जनताको भाविष्य निर्धारित हुन्छ । आर्थिक मात्र होइन परराष्ट्र नीति पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । कोसँग सम्बन्ध राम्रो छ, कोसँग छैन ? आफ्नो पछाडि कस्ता राष्ट्रहरू छन् ? भन्ने कुराले राष्ट्रको भविष्य निर्धारण गरिरहेको हुन्छ । अहिले हाम्रो आर्थिक र परराष्ट्र नीति कस्तो छ ? हामीले छिमेकी र अन्य मुलुकलाई कसरी ब्यवहार गरिरहेका छौँ ? ऋण मान्छेको ब्यक्तिगत जीवनमा जस्तै राष्ट्रको सवालमा पनि डरलाग्दो कुरा हो । चाणक्यले भनेका छन्- ऋण, शत्रु र रोगलाई कहिल्यै सानो नसम्झनु । अहिले सरकारमा बस्नेहरूले लिएको वैदेशिक ऋणको भार समयमैं तिर्न सकिएन भने त्यो हाम्रा सन्ततिहरूको टाउकोमा पर्नेछ । सही ठाउँमा लगानी गरिदियौँ भने उनीहरूले तिर्लान् तर तलब-भत्तामा खर्च गर्न थाल्यौँ भने ऋणको सदुपयोग कसरी होला ?

स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीमा युवाको लाइनले आँखा रसाउँछ । ती युवाहरूलाई प्रत्येक जिल्लामा कुनै न कुनै उद्योग स्थापना गरेर काम दिन राज्यलाई केले रोकेको छ ? अब राज्यको खर्च घटाएर सर्वसाधारणलाई रोजगारी दिनुपर्छ ।

खासमा हाम्रो देश कसरी चलिरहेको छ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिने गरिएको छैन । आफ्नै राजश्वले वार्षिक खर्च धान्ने अवस्थामा हामी छौँ कि छैनौँ ? चालु खर्च कसरी धानिइरहेको छ ? अनुदान र ऋणबाट चलिरहेको विकास खर्चमा भ्रष्ट्राचार हुँदा त्यसको प्रत्यक्ष असर जनतालाई पर्छ । वैदेशिक ऋणलाई हामीले उद्योग-धन्धामा किन लगानी गर्न सकेनौँ÷सकिरहेका छैनौँ ? अहिले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीमा युवाको लाइनले आँखा रसाउँछ । ती युवाहरूलाई प्रत्येक जिल्लामा कुनै न कुनै उद्योग स्थापना गरेर काम दिन राज्यलाई केले रोकेको छ ? अब राज्यको खर्च घटाएर सर्वसाधारणलाई रोजगारी दिनुपर्छ । खर्च घटाउने बारेमा सोचौँ । के हामीलाई यतिका कर्मचारी आवश्यक छ ? विभिन्न नामका आयोगहरूलाई एउटै बनाएर शाखा छुट्याएर काम गर्दा के हुन्छ ? विभिन्न प्रदेशमा यति धेरै मन्त्री किन चाहियो ? प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरूका सल्लाहकार र सहयोगीहरू धेरै भएनन् ?

अन्त्यमा, श्रीलङ्काबाट सिक्नुपर्ने पाठ- भ्रष्टाचारमुक्त राजनीतिक नेतृत्व, पाएँ भन्दैमा भकाभक ऋण नलिने, सङ्घीयताको सवालमा घाँटी हेरेर हाड निल्ने, लिएको ऋणलाई उत्पादन हुने ठाउँमा लगानी गर्ने । तलब, घरभाडा जस्ता कुरामा ऋणको प्रयोग नगर्ने । देशको आर्थिक अवस्था के हो भन्ने बारेमा बेला-बेलामा सरल भाषामा जनतालाई जानकारी दिने, बुझाउने । ‘बजेट भाषणमा भन्ने गरेकै छ नि’ भन्न सकिएला तर बजेटमा उल्लेख गरेर मात्र कर्तब्य पूरा हुँदैन । प्रत्येक वर्ष बजेट छुट्याइएका परियोजनाहरू किन बनेनन् ? भन्ने कुराको जवाफ पनि अब जनताले पाउनुपर्छ । बजेटका नाममा जवाफदेहिताबिनाका भाषण अब नगरेकै राम्रो । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.