‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक

| 2022 Apr 24 | 07:22 am 253

काठमाडौँ, वैशाख ११ः राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताएकी छ न्। मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमुना भएको उल्लेख गर्दै उनले राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना भएको उक्त कृति समाजका निम्ति महत्वपूर्ण दस्तावेज हो भनिन् ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार शशी–शङ्कर कलालयद्वारा आयोजित रिमालको कृति ‘श्रीयन्त्र’ दस्तावेज समर्पण समारोहमा राष्ट्रपति भण्डारीले हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक महìवका सम्पदामा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र मुलुकको सांस्कृतिक प्रतीकका रूपमा रहेको कुरा महसुस गर्न सकिने बताइन् ।

उनले समृद्धिको यात्रामा रहेको मुलुकको भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ बनाउनसमेत सरोकारवालाको ध्यानाकर्षण गराइन् । रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इन्जिनियरिङको संयोजन गरेकाे आफूले पाएको राष्ट्रपति भण्डारीले बताइन्।

“यसले एकातर्फ भौतिक संरचना बलिया हुन्छन् भने अर्कातर्फ हाम्रो विशिष्ट पहिचान विस्तार गर्न सफलता मिल्नेछ, फलस्वरूप जीवनलाई समृद्धितर्फ अग्रसर बनाउन थप मद्दत मिल्ने विश्वास छ,” राष्ट्रपति भण्डारीले भनिन् । उनले उक्त कृतिउपर वौद्धिक समुदायमा हुने छलफल र अन्तक्रियाले लेखकलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । उनले श्रीयन्त्रको व्याख्या गणितीय रूपमा प्रस्तुत गरिएको पुस्तक अध्ययन अनुसन्धान तथा विश्वविद्यालयका अनुसन्धानकर्ता र जिज्ञासुहरूका लागि सहयोगी हुने विश्वास व्यक्त गरिन् ।

पुस्तकबारे टिप्पणी गर्दै एक हजार आठ स्वामी रमणानन्द गिरीले संसार सञ्चालन भएको शिव र शक्तिको समरस्यको प्रतीक श्रीयन्त्र सृष्टि, स्थिति र संहारको मूल स्वरूप भएको अर्थ्याइन् । ऋग्वेददेखि नै श्रीयन्त्रको उपासना हुने गरेको जानकारी दिँदै उनले लेखक रिमालले वर्षौं लगाएर श्रीयन्त्रको ज्यामितीय अनुपात निकालेकाेमा खुसी व्यक्त गरिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जगत्का सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुति श्रीयन्त्र भएको र यसभित्र नौ त्रिकोण संलग्न भएको जानकारी दिइन् । उनले जगत्को सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुतीकरण नै श्रीयन्त्र भएको र उत्पत्ति नै नेपालबाट भएको बताइन् ।

नेपालको मन्दिरको निर्माण शैली प्यागोडाका प्रसिद्ध वास्तुविद् लेखक इन्जिनियर रिमाल सफल चित्रकार पनि हुन् । उनले विशेष अनुसन्धान गरी श्रीयन्त्रको वृत्त, रेखा, कोण र मर्मस्थानको ज्यामितीय अनुपातको निर्क्याैल गरेका हुन् ।

समारोहमा लेखक तथा वास्तुविज्ञ रिमालले पुस्तकरूपी दस्तावेजले श्रीयन्त्रको गणितीय पक्षलाई समेटेको बताए । विगतमा यसको संरचना र स्वरूपमा प्रश्न उठ्ने गरेकाले पहिलो पटक आफूले त्यसको व्याख्या गरेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.