श्रीपेच उपहार लिएर फर्किए राजा

| 2022 Apr 27 | 02:40 pm 317

झापा, बैशाख १४ः इटहरीका एक शिल्पीले दिएको श्रीपेच उपहार लिएर पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र झापाबाट काठमाडौं फर्किएका छन् । राजा काठमाडौंतर्फ फर्कंदै गर्दा भद्रपुर एयरपोर्टमा इटहरीनिवासी कर्ण विश्वकर्माले राजदण्डसहितको श्रीपेच उपहार दिएका थिए । श्रीपेचमा सुन, चाँदी र मोतीसमेत जडान भएको बताइएको छ । त्यति महँगो उपहार उनले राजसंस्थाप्रतिको अगाध आस्थाका कारण दिएको बताएका थिए । श्रीपेच उपहार प्राप्त गर्दा राजा ज्ञानेन्द्र भावविभोर भएको बताइएको छ । उनले उपहार लिँदै गर्दा मास्क र चश्मा लगाएका थिए ।

राजपरिवारको यस पटकको एक महिना लामो झापा बसाइ नितान्त पारिवारिक थियो । उनीहरूले नयाँ वर्ष सिलगुडीमा मनाएका थिए भने यसैबीचमा परेको चैतेदशैँ दमकमै परिवारका साथ मनाएका थिए । यसपटकको भ्रमणमा छोरी प्रेरणा तथा धीरेन्द्रका छोरीहरूसहित पूर्व बडामहारानी कोमलका माइती परिवारको समेत सहभागिता रहेको थियो ।

प्राप्त जानकारी अनुसार झापाबाट सिलगुडी हुँदै नयाँ दिल्लीको भ्रमणमा जाने राजाको कार्यक्रममा केही फेरबदल भएको छ । उनको नयाँ दिल्ली भ्रमण केही समय पर सरेको श्रोतले जानकारी दिएको छ । नयाँ दिल्लीमा यस पटक नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको बताइएको थियो । कार्यक्रम राजाका कारणले सरेको हो या नयाँ दिल्लीको कारणले भन्ने चाहिँ थाहा हुन सकेको छैन । श्रोतले भन्यो- ‘समय केही पर सरेको छ र पत्राचार जारी छ ।’

राजाको भारत भ्रमण आचार्य महामण्डलेश्वरमार्फत हुन लागेको थियो । भारत भ्रमणका क्रममा राजाले राजनीतिक ब्यक्तित्वहरूसँगको भेटघाटलगायत विभिन्न धार्मिक अनुष्ठानमा पूजा-अर्चना गर्ने कार्यक्रम रहेको छ । आचार्य महामण्डलेश्वरको निमन्त्रणामा उहाँले सन् २०२१ को अप्रिल महिनामा भारतको उत्तराखण्डमा पर्ने हरिद्वारको भ्रमण गरेका थिए । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.