वीरगन्जका औद्योगिक क्षेत्र संकटग्रस्त अवस्थामा

| 2022 Apr 21 | 07:30 am 385

वीरगन्ज, बैशाख ८ः मुलुकको पुरानो औद्योगिक कोरिडोर क्षेत्र अहिले नराम्ररी प्रभावित हुन थालेको छ । कोरोनाको नकारात्मक असरपछि पुनः लयमा फर्कन थालेको यो कोरिडोर क्षेत्र हरेक दिनको लोडसेडिङ र बढ्दो ट्रिपिङ समस्याका कारण नराम्ररी प्रभावित भएको छ ।

अहिले यो औद्योगिक कोरिडोर क्षेत्रका उद्योग प्रतिष्ठान आफ्नो क्षमताको २५÷३० प्रतिशत मात्र सञ्चालन रहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । छिनछिनको विद्युत् कटौती र ट्रिपिङ समस्याले उद्योग प्रतिष्ठानका कच्चा पदार्थ नोक्सान हुनुका साथै उत्पादनको गुणस्तरमा ह्रास हुँदा सञ्चालनमा नै सकस भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।

‘नेपाल विद्युत् प्राधिकरणद्वारा ६६ केभिएको औद्योगिक प्रसारण लाइनमा जोडिएका उद्योगमा दिनको १२ घण्टा लोडसेडिङ र झन्डै ५–६ पटक ट्रिपिङ भइरहेको छ,’ उनले भने । ६६ केभिए बाहिरका लाइनमा समेत ८–१० घण्टा लोडसेडिङ र ट्रिपिङ भइरहेको उनको भनाइ छ ।

५÷६ वर्ष अगाडि विद्युत् आपूर्तिको चरम अभाव र झन्डै १२ घण्टासम्मको लोडसेडिङ खेपेका यस क्षेत्रका उद्योग प्रतिष्ठानले पछिल्ला केही वर्ष विद्युत्को उपलब्धता सहज र निर्वाध हुँदा आफ्नो उत्पादन क्षमता बढाउन थालेका थिए । त्यसै बीचमा कोभिड–१९ को भयावह अवस्थापछि लयमा फर्किंदै गरेका उद्योगले कोरोनाकालमा जागिर गुमाएका श्रमिकलाई पनि पुनः जोड्दै राष्ट्रिय राजस्वमा समेत योगदान गर्न थालेका थिए । तर, नेपालकै ठूलो औद्योगिक कोरिडोर ‘वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर’मा अवस्थित उद्योग प्रतिष्ठान पछिल्लो समयमा फेरि असहज अवस्थातर्फ उन्मुख भएको उद्योगी व्यवसायीको भनाइ छ ।

विद्युत् आपूर्तिमा एकरूपता नहुँदा उत्पादन लागत बढ्नुका साथै गुणस्तरीय उत्पादनमा समेत असर गरेको उद्योगी तथा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । यो अवस्थाबाट यहाँका उद्योग प्रतिष्ठानलाई बचाउन गुणस्तरीय विद्युत् उपलब्धता अपरिहार्य रहेको उनको भनाइ छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.