वीरगन्जकाे कोभिड अस्पताल संक्रमित बिरामीले भरिए

| 2020 Jul 28 | 07:43 am 88

पर्सा, साउन १३ः वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन । अस्पतालमा शैय्या नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको डा. निरज सिंहले जानकारी दिए ।

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उनले जानकारी दिए । थपिने संक्रमितलाई तत्काल कहाँ राख्ने भन्नेमै चिन्ता बढेको डा. सिंहले बताए ।

कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चार महिना अघिबाट पर्सामा कोरोना संक्रमित भेटिएका थिए । तर, महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो ।

कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि पर्साको वीरगन्जमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । माइस्थान, श्रीपुर, रेल्वे मावि र बिर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.