वीरको भिभिआइपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन्, करोडौंमा विदेशमा उपचार

रिपोर्ट नेपाल | 2019 Mar 05 | 08:26 am 32

काठमाडौं, फागुन २१ : वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधासम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरू भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन्। चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरूको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख बिदेसिएको छ।

वीरको भिभिआइपी कक्ष आठ कोठाको छ। बिरामी बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन्। त्यस्तै, डाक्टर र नर्सहरूका लागि छुट्टै कोठा छन्। यसबाहेक भान्सा र बाथरुम छन्। पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो। ०४६ सालपछि भने यहाँ भर्ना भएर उपचार गर्न कुनै पनि भिभिआइपी पुगेका छैनन्।

अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादव वेलावेला बहिरंग सेवा लिन वीर अस्पताल पुग्ने गरेका छन्। विशेषगरी उनीहरू दाँतको उपचारका लागि आउने गर्छन्।

भिभिआइपी र भिआइपी क्याबिनको मर्मतमा ५० लाख

भिभिआइपी र भिआइपी कक्षको मर्मतमा पछिल्लोपटक ५० लाख खर्च गरिएको छ। दुई वर्षअघि सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गरी सरकारले त्यसको मर्मतसम्भार गरेको थियो। त्यसअगाडि १३ लाख खर्च गरेर सो कक्ष सञ्चालनमा ल्याइएको थियो।

यस्तो सुविधा छ भिभिआइपी र भिआइपी कक्षमा

भिभिआइपी र भिआइपी कक्षमा सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेच बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन्। बिरामीको स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’ छ। जसले बिरामीको हृदयगति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमको अवस्थाबारे जानकारी दिने गर्छ। कोठामा सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, ‘डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन्। नजिकैको कोठामा इसिजी मेसिन छ। यसका साथै भेन्टिलेटर र अक्सिजन पनि छ।

वेलाबखत भिआइपीको उपचार

भिभिआइपी कक्षसँगै जोडिएको सुविधासम्पन्न भिआइपी क्याबिन पनि छ। जसमा बिरामी र कुरुवा बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने र भान्सा गरी तीनवटा कोठा छन्। पछिल्लो समय केही भिआइपीले उपचारका लागि वीर अस्पताललाई रोज्न थालेका छन्। अस्पतालले भित्र्याएका अत्याधुनिक उपकरण, सबै प्रविधिको उपलब्धता र गुणस्तरीय सेवाका कारण सामान्य नागरिकदेखि भिआइपीहरूसम्म सेवा लिन आउन थालेको निर्देशक बस्नेतले बताए। पाँच वर्षयता वीर अस्पतालमा १२ जना भिआइपीले उपचार गराएको भिभिआइपी तथा भिआइपी इन्चार्ज सीता अर्यालले बताइन्।

कुनै पनि वेला देशका विशिष्ट व्यक्तित्व उपचार गर्न आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ। विगतमा रानी ऐश्वर्यले वीरको भिभिआइपी क्याबिनमै बसेर उपचार गराएकी थिइन्। राजा वीरेन्द्रका बहिनीज्वाइँ र सौतेनी आमापट्टिका छोराले पनि यही क्याबिनमा बसेर उपचार गराएको पुराना चिकित्सकहरू बताउँछन्।

दैनिक बिरामी २५ सय : शय्या संख्या ३८०

वीर अस्पतालमा दुई वर्षयता बिरामीको चाप बढेको छ। विगतमा दैनिक एक हजारदेखि १५ सयसम्म बिरामी आउने गरेकोमा हाल दुई हजारदेखि २५ सयसम्म पुग्ने गरेका छन्। ०७२ को भूकम्पअघिसम्म अस्पतालमा चार सय ८६ बेड थिए। अहिले तीन सय ८० बेडबाट मात्रै बिरामीलाई सेवा दिइरहेको छ। वीर अस्पताल एक सय २९ वर्षअघि पाँच शय्याबाट सुरु भएको हो।

बेवारिसे बिरामी र शव एकै ठाउँ
वीर अस्पतालमा शवगृह (मर्चरी) नहुँदा शव व्यवस्थापनमा गम्भीर समस्या परेको छ। बेवारिसे बिरामी र शव एकै ठाउँमा राखिएका हुन्छन्। वीर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बेवारिसे बिरामी र शव एकै ठाउँ राख्नु रहर नभएर बाध्यता भएको बताए। पुरानो भवन भएकाले अस्पतालमा शव राख्ने ठाउँ छैन। अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्दै आएको छ। डा. श्रेष्ठका अनुसार बेवारिसे व्यक्ति मरेको खण्डमा शव उठाउन केही समय लाग्ने गर्छ। ढोकाछेउमा शव राख्दा अस्पतालमा आउने बिरामीमा मानसिक र शारीरिक समस्या पनि आउन सक्ने चिकित्सकहरू बताउँछन्।

नयाँ भवनमा सुविधासम्पन्न मर्चरी बन्दै छ
डा. भोलाराम श्रेष्ठ
प्रमुख, इमर्जेन्सी विभाग, वीर अस्पताल
अहिले वीर अस्पतालमा शव राख्ने ठाउँ छैन। आफन्तले नलगुन्जेल ढोकैछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू गर्न सकिँदैन। दिनहुँ बिरामी र आफन्तको गुनासो आउनले गरेको छ। तर, समाधान गर्न सक्ने अवस्था तत्काल छैन। नयाँ सर्जिकल भवन बन्दै छ। त्यसमा शव राख्ने र निकालेर जाने भिन्नै स्थान हुनेछ। अहिले हामीले बेवारिसे बिरामी र शव सँगै राख्नुपरेको छ, त्यो हाम्रो बाध्यता हो। लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा फ्रिज रहेका छन्, त्यहीँ लैजाने गरेका छौँ।

पूर्वसभामुख रानाभाटले ५४ हजार तिर्न बाँकी

एक वर्षअघि वीर अस्पतालमा प्रोस्टेटको अप्रेसन गराएका पूर्वसभामुख तारानाथ रानाभाटले सेवा लिएबापत एक रुपैयाँ पनि तिरेका छैनन्। भिआइपी उपचार कक्षमा २१ दिन बसेर उपचार गर्दा उनको ५७ हजार बिल उठेको थियो। सुरुमा तीन हजार धरौटी राखेका उनले डिस्चार्ज हुँदा कत्ति पनि रकम तिरेनन्। उनको नाममा ५४ हजार बाँकी छ। उपचार गराएका अधिकांश भिआइपीको वीरमा बक्यौता छ।

सुविधामा कुनै कमी छैन, हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता छ
प्रा.डा. भूपेन्द्रकुमार बस्नेत, कामु निर्देशक, वीर अस्पताल

वीर अस्पतालमा भिभिआइपी उपचार गराउन नआएको भन्ने होइन। वेलाबखत दाँतको उपचार गराउन अहिले पनि पूर्वराष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आउँछन्। भिभिआइपी क्याबिनमा भर्ना हुने गरी मात्रै नआएका हुन्। सायद भर्ना हुने गरी बिरामी नभएकाले पनि नआएका हुन सक्छन्। वीरमा सुविधासम्पन्न उपकरण छन्। सोहीअनुसार विशेषज्ञ चिकित्सकहरू पनि छन्। जस्तोसुकै समस्यालाई समाधान गर्ने जनशक्ति हामीसँग छन्। त्यसैले वीरमा उपचार कस्तो होला भन्ने भ्रम कसैले पनि पाल्नुपर्ने अवस्था छैन। सुविधामा कुनै कमी छैन, हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता वीर अस्पतालसँग छ।

विशिष्टको उपचारमा चार वर्षमा ६ करोड, यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा

पूर्वराष्ट्रपति डा. रामवरण यादव, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलगायतको उपचारमा राज्यले चार वर्षमा ६ करोड खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार यस वर्ष वैशाखदेखि माघसम्म विदेशमा उपचार गराएका विशिष्ट व्यक्तिहरूलाई २६ लाख ९८ हजार निकासा गरिएको छ। पछिल्लो समय चौतर्फी विरोध हुन थालेपछि उपचारका नाममा बाँडिने रकम घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको लेखा शाखाका उपसचिव मुक्तिनाथ न्यौपानेका अनुसार विगत दुई वर्षयता स्वास्थ्य मन्त्रालयले विशिष्टको उपचारका लागि कुनै रकम निकासा दिएको छैन। तर, मन्त्रिपरिषद्बाट सीधै पैसा निकासा हुने गरेको छ ।

मन्त्रिपरिषद्को ८ मंसिर ०७५ को निर्णयअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गराउँदा लागेको दुई लाख, ३ माघ ०७५ को निर्णयअनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कार्यरत श्रीविष्णा जोशीको उपचार खर्च एएमसी अस्पताललाई १० लाख र १० साउन ०७५ को निर्णयअनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेको विभिन्न अस्पतालमा लागेको उपचार खर्चबापत १४ लाख ९८ हजार ६ सय ६९ रुपैयाँ निकासा भएको छ। नयाँ पत्रिकाबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.