विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ

| 2022 Apr 17 | 08:06 pm 237

सिरहा, बैशाख ४ः जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका ८ बस्ने २२ वर्षीय
दिपेन्द्र कुमार मण्डल रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले
शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३ सय वटा, क्रोमोथाजिन हाईप्रोक्लोराईक ईन्जेक्सन ३२ वटा, डाईजेपाम ईन्जेक्स्न २७ वटा र नोफ्रिन ईन्जेक्सन २८ वटा फेला पारेको हो । पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बेल्दारीबाट खटिएको सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ५ राम जानकी ईलाकाबाट १ सय वटा डाईजेपाम ईन्जेक्सनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने १९ वर्षीय राजेश मुखिया र १८ वर्षीय राजकिशोर मुखिया रहेका  छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध तथा २ थान मोवाईल सेट, एउटा पर्स र  ३ हजार ७ सय १ भारतीय रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध, मोवाईल, पर्स र रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

पौडी खेल्ने क्रममा नदिमा डुवेर बेपत्ता भएकाको शव फेला
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटे बालुवास्थित सुनकोशी नदिमा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । दोलखा जिल्लाको सैलुङ गाउँपालिका ६ बस्ने २२ वर्षीय रन्जन श्रेष्ठ उक्त नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले उनको शव पानीबाट बाहिर निकालेको हो ।

चोरीपैठारीको सामान बरामद
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका ७ स्थित पूर्व पश्चिम लोकमार्गको कसाहबाट सशस्त्र प्रहरीले करीव ५ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी सुखीपुरबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा शंका लािग जाँच गर्दा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरको उक्त लत्ताकपडा बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ कुकुर भुकुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.