विभागीय प्रमुखलाई मन्त्री भट्टराईको चेतावनी, ‘राम्रो काम नगरे हटाउँछु, मन नदुखाउनु’

रिपोर्ट नेपाल | 2019 Nov 20 | 03:36 pm 52

काठमाडौं, मंसिर  ४ : सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विभागीय प्रमुखहरुले सन्ताषजनक काम नगरे हटाउने चेतावनी दिएका छन् ।

मन्त्रालय मातहतका विभागको आज पर्यटन बोर्डमा बसेको नियमित आन्तरिक बैठकमा मन्त्री भट्टराईले विभागको काम कारबाहीप्रति असन्तुष्ट जनाउँदै हटाउने स्थिति आउन नदिन गम्भिर भएर काम गर्न निर्देशन दिए ।

लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गर्ने मन्त्री भट्टराईले स्पष्ट पारे । ‘काम भएन भने विभागीय प्रमुख परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनु होला’ उनले भने ।

राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न उनले निर्देशन दिए । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनु होला’ उनले भने । राम्रो काम गर्ने कर्मचारीलाई थप सुविधा दिएर प्रोत्साहन गरिने उनले बताए ।

आज विभागीय प्रमुखहरुले आफ्नो कार्यप्रगति बुझाएका थिए । हाल भएको कार्यप्रगति विवरण काम चलाउ मात्रै भएको टिप्पणी गर्दै उनले फेरि बस्ने बैठकमा पुन प्रस्तुत गर्न निर्देशन दिए । भ्रमण वर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने? त्यो कार्ययोजना मंसिर ११–१२ मा प्रस्तुत गर्न उनले निर्देशन दिए । काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.