तर्साउने बमदेखि आगजनी र तोडफोड, कहाँ के भयो?

| 2019 Mar 14 | 03:30 pm 59

काठमाडौं, फागुन ३० :  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।

सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको विरोधमा विप्लव समूहले एक दिने बन्दको आह्वान गरेको हो । बन्दको कारण उपत्यकाकालगायत देशका विभिन्न जिल्लामा समान्यदेखि आंशिक प्रभाव परेकाे छ । देशैभरका प्राय निजी र कतिपय शैक्षिक संस्थामा पठनपाठन बन्द भएकाे छ । सार्वजनिक यातायात पनि अवरुद्ध भएका छन् ।

निजी सावारी साधनहरु सडकमा प्रशस्त रहेका छन् । मोटरसाइकल तथा निजी गाडी केही चले पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई समस्या भएको छ ।

कैलालीमा विवाहको गाडीमा आगजनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात भने पूरै  बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।

अनामनगरमा कुकुर बम  फेला

बन्दका क्रममा बुधबार रातिदेखि नै विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला पर्ने क्रम जारी छ । बुधबार साँझै काठमाडाैँकाे सिंह दरबार नजिकै अनामनगरमा कुकुर बम राखिएकाे फेला परेकाे थियाे । बिहीबार बिहान देशका विभिन्न भागमा बम राखिएकाे भेटिएकाे छ ।

हेटाैँडाकाे पूर्ब-पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा सेताे प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ ।

उता प्यूठानकाे स्वर्गद्वारी नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।साे वस्तु फेला परेको स्थानीयले जानकारी दिएपछि सुरक्षा टाेली खटिएकाे थियाे ।

प्युठानकै माण्डवी गाउँपालिका ३, देविस्थान र भिंगृमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका ५, स्थित रुकुमकोट जिल्ला अदालत भन्दा २ सय मिटर अगाडिको घुम्ती छेउमै प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

बुटवलस्थित राजमार्गकाे कालिकाचाेक खण्डमा शंकास्पद वस्तु भेटिएकाे र डिस्पाेजल टाेलीले उक्त वस्तु डिस्पाेज गरिसकेकाे छ । यसैगरी पाेखराकाे सभागृह चाेकमा रहेकाे ट्राफिक बिटमा पनि शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंकामा नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको थियाे ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका २ साढेपानीमा शंकास्पद वस्तु फेला परेको छ । साढेपानीमा रहेको इलाका वन कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

कैलालीको जोशीपुर गाउँपालिकाको वडा कार्यालयमा शकास्पद वस्तु फेला परेको छ ।गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को वडा कार्यालयमा शंकास्पद वस्तु फेला गरेको हो । तिनवटै कार्यालय एउटै घरमा संयुक्त रुपम सन्चालनमा रहेका छन् ।

गोरखा बजारमा बम 

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

नवलपरासी  दुई ट्रकमा आगजनी 

नवलपरासीमा दुई ट्रकमा आगजनी भएको छ । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती ८/ १० जनाको समूहले आगजनी गरेकाे हो । जिल्ला प्रहरी नवलपरासीको अनुसार काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको ट्रकमा आगजनी भएको हो ।

मकवानपुरमा पनि ट्रकमा आगजनी

मकवानपुरकाे थाहा नगरपालिका–४ नयाँगाउँमा एक ट्रकमा आगजनी गरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बरकाे ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले बताएकाे छ ।

मुगुमा आंशिक प्रभाव

आजकाे देशव्यापी बन्दले मुगु सदरमुकाम गमगढी बजारमा रहेका सम्पूर्ण पसल होटल र साना दुरी वा लाम्रो दुरीमा चल्ने सवारी साधन समेत पूर्ण रुपमा बन्द् रहेका छन् । भएको छ भने सामान्य गाँउ बस्ती तिर पनि बन्दले असर पारेको छ ।

सामान्य गमगढी बजारमा रहेका पसल होटल बन्द भइपनि सरकारी कार्यालय, विद्यालय सन्चालनमा आएको अहिले सम्म जिल्ला भरी कुनै पनि नराम्रो घटना नभएको स्थानिय जनताहरुको जिउ ज्यान, धनमाल लगाएतको सरकारी कार्यालय संघ सस्थामा कुनै पनि अपिय घटन हुन नदिनको लागी सुरक्षा को ब्याबस्था निकै बलियो बनाए शुरक्षाको गस्ती ब्याबस्था मिलाएको सामान्य असर परेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताएका छन् ।

रुकुमा अदालत अगाडि शंकास्पद वस्तु फेला

रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ दौलापैरामा पनि शंकास्पद वस्तु फेला परेको बताईएको छ । तर यस विषयमा भने कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको र उसैले त्रास फैलाउनका लागि उक्तवस्तु राखेको हुनसक्ने आशंका छ। नेकपाले पनि यस विषयमा खुलेर प्रतिक्रिया दिएको छैन ।

दाङमा आंशिक प्रभाव

नेपाल बन्दको प्रभाव दाङमा परेको छ । आज बिहीबारको एकदिने नेपाल बन्दका कारण सार्वजनिक सवारीका साधानहरु सञ्चालन नहुदा यात्रूहरु मर्कामा परेका छन् । जिल्लाका बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । शिक्षण संस्था, उद्योग कलकारखाना, ब्यापार ब्यबसायमा पनि बन्दको प्रभाव परेको छ ।

तुलसीपुरको बिपीचौक स्थित एउटा कपडा पसलको बरण्डामा फेला परेको वेवारेसी शंकास्पद बस्तुलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातको समयमा राखेको हुन सक्ने आशंका गरिएको बोतलजस्तो देखिने वस्तुलाई प्लाष्टिकले बेरी बरण्डामा राखेको अवस्थामा फेला परेको हो । बन्दको प्रभाब दाङ जिल्ला मात्र नभई प्रदेश ५ का सबै जिल्लामा बन्दको प्रभाव परेको छ ।

तेह्रथुम पनि बन्द

बन्दका कारण तेह्रथुमबाट धरानतर्फ जाने लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा यात्रुहरु वसपार्कमा नै अलपत्र परेका छन् ।

जिल्लामा रहेका म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, मोराहाङ, सक्रान्ति बजार आम्सिक रुपमा बन्द रहेका छन् । जिल्लामा सुरक्षा सर्तकता वढाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले बताए ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आज बिहीबार नेपाल बन्द आव्हान गरेको हो । एकदिने बन्द बिहान ५ बजेदेखि बेलुकी ६ बजे सम्म हुने उक्त पार्टीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.