विकासका भिष्मपिता तिम्रो बैकुण्ठको बास होस्

रिपोर्ट नेपाल | 2020 Nov 26 | 07:12 am 724

  • बसन्त भुजेल

गुल्मी जिल्लाका जनतालाई ढाक्रेबाट नागरिक बनाउने विकास निर्माणका पिता बैकुण्ठबहादुर चन्दको निधनले यो पंतिकारलाई अत्यन्तै दुःखीत बनायो ।

सामाजिक संजालबाट जब उहाँको प्राण पखेरु उडेको थाहा पाए मेरा आँखा एक्कासी रसाए । हाम्रा बाजे बराजुदेखि मैलेसम्म बोकेको डोकोको अन्त्य गराउने यि महान व्यक्तित्वको निधनले विकास प्रेमी सतिसालको अन्त्य भएको छ ।

वि.स. १९९० सालमा गुल्मीको अति बिकट गाउँ अग्लुङमा बुबा रणबहादुर चन्द र आमा पवित्रा चन्दको कोखबाट जन्मीएका बैकुण्ठबहादुर चन्दले कोरिदिएको विकासको राजमार्ग जस्तै अहिलेका आफूलाई शिक्षित र दर्शन पढेको भन्ने नेताहले गोरेटो समेत कोर्न सकेका छैनन् ।

समाज सेवाको नारा लगाउँदै मेवा खाने वर्तमान जनप्रतिनिधिहरुले समाजसेवाको पाठ बैकुण्ठबहादुरबाट सिक्न जरुरी छ । १३ वर्ष जिल्ला पंचायतको सभापति र दुई कार्यकाल राष्ट्रिय पंचायत सदस्य भएर गुल्मी जिल्लाको मुहारमा मुस्कान ल्याउने चन्द जस्तै उदाहरणीय बन्न सिक वर्तमान राजनीतिकर्मीहरु हो ।

राष्ट्रिय पंचायतको निर्वाचनमा विजयी भएपछि विकासको पहिलो मेरुदण्ड मोटरबाटो भन्ने बुझेका चन्दले पाल्पा रिडी तमघास ७५ किलोमिटर मोटरबाटो पूर्ण जनश्रमदानबाट बनाएको इतिहास संसारमै छैन ।

यो काम तत्कालिन रापंस बैकुण्ठबहादुरले गरेका हुन् । प्रत्येक गाउँपंचायतका प्रधान पञ्चले नेतृत्व गरेर हरेक घरबाट श्रम दान गर्नुपर्ने निर्णय गरेर आफैले नेतृत्व गरेर त्यती लामो सडक बनेको हो । कुनै लोभ लालचमा नफसी निस्वार्थी भावनाले लागेका कारण उक्त सडकले सफलता पाएको हो ।

सादा जिवन उच्च विचार भएकै कारण बैकुण्ठबहादुर चन्दले कहिल्यै लोभ लालचमा लागेनन् । उनी लोभी भएका भए र धन र सम्पत्ती आर्जन गर्न खोजेका भए त्यस बेला सडक निर्माणमा अवरोध गर्ने पाल्पाली व्यापारीले चाहिए जति सेवा, सुविधा र धन सम्पत्ती दिन्थे ।

तर यि महान व्यक्तित्व चन्दले धन दौलतलाई भन्दा जनताको ढाडको खुइलिएको छालालाई महत्व दिए । चन्दको योगदानको विषयमा जतिसुकै लेखे पनि कमी हुन्छ । बुटवलबाट नुनको भारी बोकेर ओढारको गास र बास गर्दै हप्तादिन भन्दा बढी लगाएर डोको बोक्ने हामी गुल्मेली भरियालाई यो अवस्थामा ल्याउने बैकुण्ठबहादुर चन्द नै हुन् ।

यो पंतिकारले यो लेख लेख्दा वर्तमान पिढी हास्लान र कथा सम्झेलान् तर सत्य कथा यही हो । म सानो हुँदा एक पटक पाल्पाबाट मट्टीतेल बोकेर लैजादा चुहिएर मेरो ढाँडको छाला खुइलिएको थियो । ति खुइलिएका छालामा मल्हम लगाउने बैकण्ठबहादुर चन्दलाई आफूलाई बहुदलवादी भन्नेहरुले जिवित रहुन्जेल कहिल्यै सम्झेनन् ।

मैले मट्टीतेल बोक्दा ढाड खुइलाइएको त्यही सडकम आज राम्रो गाडी चढेर मलाई सवार गर्ने अधिकार कसैले होइन यिनै विकासका सतिसाल चन्दले दिएका हुन् । जिवित रहँदासम्म पंचको पगरी गुथिदिनेहरु उनको मृत्यु पश्चात् आर्यघाटमा गोहीको आँसु बगाउन पुगेका देख्दा मलाई दया लागेर आयो ।

त्यो जमानामा जनतालाई मनाउने गरी मन जितेर श्रम गराउन सक्नु उनको महानता हो । जनताको मन जितेर सबै गुल्मेलीको रगत र पसिनाको प्रतिफल पाल्पा तमघास सडक हो । यसका कमाण्डर बैकुण्ठबहादुर चन्दलाई जिवन्त राख्नका लागि यथासक्य यो सडकको नाम बैकुण्ठ मार्ग राख्नुपर्छ ।

राज्यको अर्बौं खर्च भएको सडकमा कुनै योगदान नभएका व्यक्तिको नामाकरण गरिएको छ भने जनताको रगत पसिना बगेको सडकमा बैकुण्ठको नाम राख्न किन नहुने ?

आफ्नै घरको खाना खाएर कैयौ जनताको ज्यान गएर बनाएको सडक हो । कति आमा प्रसुतिको छटपटाइमा खनिएको सडक हो । विकासको सुत्रधार तिमि बैकुण्ठ भिष्मपिता हौ तिमिलाई मेरो भावपूर्ण श्रद्धाञ्जली छ । तिम्रो बैकुण्ठको बास होस् ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.