वडाले गर्यो मदिरा बिक्री वितरणमा रोक

| 2019 Nov 06 | 07:26 am 39

डोटी, कात्तिक २०: जिल्लास्थित शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गरिने भएको छ ।

मङ्गलबारको बैठकले त्यस वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीबाट मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

बैठकले निर्णय गरे अनुसार वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई १० हजार र खानेलाई पाँच हजार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । उनले भने, वडाको निर्णय अटेर गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ ।

उक्त क्षेत्रमा मदिरा सेवनका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको वडाध्यक्षले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन् । यो वर्ष मात्रै मदिराका कारण कम्तीमा पनि एक दर्जन घटना भइसकेका प्रहरीको तत्थयाङ्कमा उल्लेख गरिएको छ ।

मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भइरहे पनि गाउँमा लुकीछिपी बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.