‘लुट्‍नसम्‍म लुट, धेरै बोले कारबाही हुन्छ चुप लागेर सुत’

| 2019 Feb 17 | 08:51 am 5637

काठमाडौं, फागुन ५ : चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन्। गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ।

कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइरहेको छ।

हास्‍यकलाकार दिपकराज गिरीले व्यंग्य गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘लुट्‍नसम्म लुट कान्छा लुट्‍नसम्म लुट, धेरै बोले कारबाही हुन्छ चुप लागेर सुत’। उनो यो पोस्टमा धेरैले सरकारको यस कदमको विरोध गर्दै कमेन्ट गरेका छन्। केहीले राणा र राजाको भन्दा पनि क्रुर सरकारको संज्ञा दिएका छन्। भ्रष्टाचार मौलाइरहेको बेला यो गितले व्यंग्य गरेकोले उचित भएको अधिकांशले कमेन्ट गरेका छन्।

लोक दोहोरी प्रतिष्ठानका निर्वतमान अध्यक्ष चन्द्र शर्मा यथार्थपरक गित आउने क्रम बढीरहेको बेला यो गित अर्को उदाहरण भएको यसमा राज्यले लगाम लगाउनु उचित नभएको बताएका छन्। उनले भने, ‘राज्‍यलाई यथार्थ बताउने सिर्जनामा लगाम लगाउनु सरकारको कायरता हो। केही शब्दमा आपत्तिजनक भए परिवर्तन गर्न सकिन्छ।’

प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा बालुवाटारदेखि शितल निवाससम्म तरंग ल्याएको थियो।

गीतमा राष्ट्रपति र प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको छ। काम केही नगरेको, ठूला-ठूला भाषणमात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे शनिबार दिउँसो छलफल भएको स्रोतले बतायो।

पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा लगाम लगाउन खोजिरहेको सरकारले यस गितमा प्रतिबन्ध लगाउन दबाब दिएपछि गायक शर्माले गित हटाएको जानकारी फेसबुकमार्फत दिएका छन्।

यो पनि पढ्‍नुस्, 

एउटै गीतले हल्‍लियो दुई तिहाइको सरकार, पशुपतिको सिर्जनामा प्रतिबन्ध !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.