लुकेको स्वर्ग गुल्मीको भार्से लेक

| 2021 Jan 27 | 09:08 pm 6793

  • वसन्त भुजेल

यात्रा स्मरण

गुल्मी क्षेत्रको प्राचिन सभ्यता भार्से गाउँमा गएर ठोकिन्छ । भार्से गाउँ ऐतिहासिक मात्रै नभएर पुरातात्विक क्षेत्र पनि हो , तर उत्खनन् बाँकी रहेका कारण इतिहासको ठूलो रहस्य भार्से क्षेत्रको माटोमुनी दविएर रहेको छ । वरिपरि डाँडाले घेरिएको वीचमा भासिएको भू–सतहले बनेको गाउँ हो भार्से । भुजेल भाषामा दुई डाँडाको बीचको भागलाई भार्से भनिन्छ । नेपाली भाषाको भञ्ज्याङ शब्द भार्से शब्दकै अपभ्रंश रहेको भाषाविद्हरुको भनाई छ । आजभन्दा करिव २ सय ५० वर्ष अघिसम्म देक्चुली–बडचुली , भार्से , गोटादि आदि १२ राज्यहरु अस्तित्वमा थिए जस मध्ये भार्सेमा भूगङदेव सेनदेव राजा थिए । २०३८ सालसम्म पनि भार्सेमा ७ जना मुखिया थिए । जसमध्ये टेकबहदुर भुजेल (बुकेनी मुखिया) ले आफूलाई भार्सेका अन्तिम सेन राजा भुगङ देवका १४औं पुस्ताका सन्तती बताउँथे ।

Image may contain: 1 person, standing, mountain, sky, outdoor and nature

करिव ७ हजार फिट उचाइमा रहेको भार्सेको पूर्वमा तत्कालिन फोक्सिङ र हसरा गाविस, पश्चिममा रुपाकोट र हरेवा गाविस र ग्वाघा गाविस र दक्षिणमा जुनिया, जोहाङ र हंसरा गाविस पर्दछन् । पूर्वको सत्यवती लेक, पश्चिमको चिदिगाको लेक, उतरको फुर्सेथान र दक्षिणको मयलडाडाले सिमाङ्कन गरेको यस ठाउँको नामबाट नै पुष्टी हुन्छ । नेपालमा वाईसे र चौवीसै राज्यहरुको अस्तित्व भएको समयमा भार्सेको अर्कुलमा पनि भुरे राज्य थियो। पछि गुल्मेली लिम्घा र रुपाकोटले पनि आफ्ना मौला छुट्याए अनि मौला भार्से गाउँमा मात्र साँगुरिन पुग्यो । भार्से (अर्कुल) राज्यको सिमाना पूर्वमा लुम्दी खोला पश्चिममा गेदी खोला, उत्तरमा चम्सैरा गैरा र दक्षिणमा बढिघाट रहेको थियो र राज्यका मुख्यमन्त्री सिदै बुढा थिए । सिर्को र फुर्सेथानमा गरी २ वटा थाना र हरिपाल कोटमा चौकी थिए । राज्य सुरक्षार्थ रहेका ती चौकी र थानाको भवन तथा पर्खालक अवशेष यदपि देख्न पाईन्छ । सन् ११०० तिर काली गण्डकी क्षेत्र (हालको घवलागिरि, लुम्बिनी , गण्डकी, बागमती र नारायणी अंचल क्षेत्र ) १२ थुमरजिल्लामा विभक्त भई बाहमगरात अस्तित्वमा देखा पर्यो भने सन् १८ औ शताव्दीतिर उक्त मगरात प्रदेश २४ राज्यमा विभक्त भई चौविसे राज्यको रुपमा उदय भएको बुढापाकाबाट सुनिन्छ ।

चौबिसे राज्यहरुको सूचीमा इतिहासकराहरुले अर्कुल (भार्से) राज्यको उल्लेख गरेको पाइदैन । त्यसैले यो सेन राज्यकै कुनै मौजा हुनुपर्छ । हुन त गोरखा राज्यको पनि चौबिसे अन्तर्गत गणना नभएको भनि उल्लेख गरेको पाईन्छ । प्रा. डा. राजाराम सुवेदीका अनुसार लिच्छविकालको उत्तरार्दमा उपत्यका बाहिर एघार वटा विषय (जिल्लाहरु) भएको र ती मध्ये एउटा मग्ग्वर विषय भएकोले गुल्मितिर वि.स. ११५७ ताका मगरहरुको बसोबास भइसकेको थियो । त्यस बेला उपत्यकामा राजा शिवदेव, मग्ग्वर विषयमा सामन्त राजा रामदीप र विषयपति श्री साहेव राने (राना मगर ?) भएको कुरा प्रमाणित भएको छ । केन्द्रको शासन कमजोर भएको अवस्थामा कर्णाली प्रदेशको सिंजालाई केन्द्र बनाई हुण मूलका खस मल्ल पदधारी राजाहरुले शासन प्रारम्भ गरे । मग्ग्वर विषय पनि सिंजा राज्य अन्तर्गत पर्दथ्यो । पछी कर्णाली प्रदेशको खस मल्ल साम्राज्य कमजोर भएपछि बल्देङगढी (बलिहाङ राज्य) को स्थापना भएको थियो । राजा बलिहाङ (बलिराजा) भुजेल थिए । वि.स. १४९३ मा गुल्मी, १५५० मा पाल्पा आदि राज्य अस्तित्वमा आईसकेपछि वरपरका सात राज्य मिलेर वि.स. १६०० तिर बल्देङगढी माथि हमला गरी ध्वस्त पारे । (शोधमाला, अंक २, पृष्ठ ३)

भार्सेमा वि.स. २०३८ सम्म भार्सेमा पुरानो राज्य संरचनाका तल्लो तहका प्रशासनिक निकायक रुपमा मुखियाहरु (पाखा वोलीको कर तिरो उठाउने ) धनबहादुर श्रीस, रनबहदुर श्रीस, पशुपति बुढाथोकी (डोठे मुखिया), भावनसिहं बुढाथोकी, टेकबहदुर भुजेल (बुकेनी मुखिया), दुलावीर राना ( गुमानसिहं राना?), र जिम्मेवाल (खेतको तिरो उठाउने) गोविन्दबहादुर श्रीस कार्यरत थिए ।

Image may contain: 5 people, including Basanta Bhujel, people standing, mountain, sky, outdoor and nature

भौगोलिक परिचय
हाल सत्यवती गाउँपालिका अन्तरगत रहेको तत्कालिन भार्से गाविस का ९ वडाहरु मध्ये सात वडाहरु भार्से खोल्टोमा र २ वटा वडाहरु डाँडा पारी छन् । डाँडापारी वडाहरुमा वडा नं. १ खाँडा गाउँ (खारागाम) भैसे, वडा नं. २ पैंयापाटा लाम्पाटा हुन् भने भार्से खाल्टोका वडाहरुमा ३ नं. डोरो, सापढुंगा , घर्तीटोला, छन्तेलटोल, सेलखोला, ४ नं. बुगेनी, रान्टोला, दर्लामी टोला, ५ नं. मयलडाँडा , गोठँडाँडा , झुल्थुम, लुरुंगभेट्टा, ६, नं. सानोपोखरा, ठूलोपोखरा, धाकलटोला, बुढाथोकीटोल, नेवारटोल. ७ नं. चम्लागैरा, भीरखाल्टा, जमारी, काउले खोला, ८ नं. चम्लागैरा, काफलडाँडा, तामाघारी, उखुबारी र ९ नं. उपल्लो दबुंग, तल्लो दबुंग, सिरनी, थुम्की हुन् । भार्से गाविसको केन्द्र सानोपोखरा (सानोपोखरी) मा स्वास्थ्य चौकी, हुलाक, गाविस भवन, पसलहरु छन् भने छन्तेलटोल सुवाखोला वगरमा माध्यमिक विद्यालय, पाहुना घर तथा पसलहरु रहेका छन् ।

भार्से गुल्मी जिल्लाको सबै भन्दा अग्लो पहाडको थाप्लो हो । समुन्द्रको सतहबाट ८ हजार ८ सय २५ फिट अग्लो थाप्लोको भार्से गाउँ मुलुकका थोरै रमणीय बस्ती मध्येमा पर्छ । केही शिल्पी जाति बाहेक करिव ५ सय घरधुरी रहेको यो पुरै गाउँ मगर तथा सेन भुजेल बस्ती हो । यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत कृषि त हुँदै हो तर संवृद्धिको आधार भने भारतीय तथा बेलायती सेनाको जागिर नै हो । कुनै बेला लगभग सबै घरपरिवारका कम्तिमा एक जना सदस्य बेलायत वा भारतीय सेनामा थिए । त्यसैले भार्से गाउँलाई सैनिक बस्ती पनि भनिन्थ्यो । बेलायती सेनामा भर्ती हुनकै लागि सेन भुजेलहरुले आफूलाई मगरका रुपमा परिचय गराएको पाइन्छ । स्थानीय मगर जातिकै थर लेख्न थालेकोले भार्सेमा सेन भूजेलहरुको जनसंख्या निकै काम छ ।

भार्सेका सपुतहरु
गुल्मी जिल्लाकै प्रथम नेता गिरिप्रसाद बुडाथोकी जन्मेको गाउँ पनि हो भार्से । भार्से भन्ने वित्तिकै गिरिप्रसादको नाम आउँछ । हुन त भार्से गाउँ बाटै अहिलेसम्म ५ जना सांसद भइसकेका छन्, तर गिरिप्रसादलाई उछिन्न कसैले सकेका छैनन् । विक्रम सम्वत १९७२ अर्थात सन् १९१५ सालमा त्यहाँका १७ बर्षिय युवा गिरिप्रसाद गोरखपुरमा पुगेर भर्ति भए । दोश्रो बिश्व युद्धमा ठुलो शाहस देखाए । त्यस पछि उनको नाम लियो कि भार्सेली युवा भर्ती भयो भनेर निश्चित हुन थाल्यो । उनी त्यहाँ हनरी क्याप्पेटनमा अवकास लिएर २००७ सालको जनक्रान्तिमा होमिए । जनक्रान्ति सम्पन्न भएपछि उनी गुल्मीको पहिलो बडाहाकिम बने ।

पछि धेरै पटक राष्ट्रिय पञ्चायतको सदस्य र रक्षा मन्त्री सम्म भए । उनकै पहलमा भार्सेमा २००८ सालमा बिद्यालय स्थापना भयो । त्यति बेला देखि नै बेलायती नागरिकले निशुल्क अग्रेजी र विज्ञान शिक्षा दिने भएका थिए । जिल्लामै अंग्रेजी माध्यमबाट पढाई सुरु भएको बिद्यालय नै भार्सेको जनसहयोग विद्यालय हो ।

एउटै परिवारका तिन भाई छोरा मन्त्री बनेको ईतिहास वुढाथोकी परिवारले रचेको छ । भाई भिमबहादुर बुढाथोकी र उनका छोरा श्रीप्रसाद बुढाथोकी पनि मन्त्री भए । २००७ सालको जनक्रान्तिमा मुक्ति सेनाको सेक्सन कमाण्डरका रुपमा उनले पु¥याएको योगदानलाई दूरदर्शी राजजनेता वीपी कोइरालाले समेत मुक्त कण्ठले प्रसंसा गरेका थिए । २०१५ सालको आम निर्वाचनमा गुल्मीमा २ वटा क्षेत्र थिए । जसमध्ये एउटा क्षेत्रबाट उनी आफैले चुनाव जिते भने अर्को क्षेत्रबाट तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष सुवर्ण शमशेर राणालाई चुनाव जिताए । गुल्मीमा पाइला नै नटेकी सुवर्णशमशेर विजयी हुनुमा गिरिप्रसाद बुढाथोकीकै मुख्य योगदान छ ।

२०१७ साल पुस १ गते जननिर्वाचित संसद र सरकार विघटन गरी मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि तत्कालिन राजा महेन्द्र शाहले नेपाली कांग्रेसका जनाधार र क्षमता भएका इमान्दार नेताहरुलाई छानी जिम्मेवारी सुम्पे । बुढाथोकी पनि राजाका छनौटमा परे । पंचायतकाल भरी गुल्मीको प्रतिनिधित्व गरेका बुढाथोकी पटक पटक गरेर ११ वर्षसम्म मन्त्री बने । गुल्मी जिल्लाबाट सबै भन्दा लामो समयसम्म सांसद तथा मन्त्री पाउने नेता हालसम्म बुढाथोकी नै हुन् । त्यसो त भार्सेकै भीम (प्रसाद) बहादुर बुढाथोकी पनि पंचायतकालमा राजसभाको सदस्य (सम्माननीय) भएका थिए । भार्सेकै नरबहादुर वुढाथोकी र ओम पुन नेपाली सेनाको जर्नेलसम्म भए । भार्से बुकेनिको भुजेल भारतीय सेनामा कर्णेलसम्म भए । भार्से खानीका गंगाप्रसाद बुढाथोकी लप्टन सम्म भए । गिरिप्रसादका छोरी तर्फका नाती तथा नेपाल प्रहरीका पुर्व प्रहरी नायव महानिरक्षक निरज पुन हुन् । गिरिप्रसादका कान्छा छोरा नरबहादुर बुढाथोकी नेपाली सेनाका अवकास प्राप्त मेजर जर्नेल हुन ।

२०१५ सालमा गुल्मी लगायत आसपासका ६ वटा जिल्लालाई लक्षित गर्दै विकास कार्यक्रम संचालिन गरिएको थियो । जसमा विकास अधिकृत भार्सेकै परमलाल वुढाथोकी थिए । २०१८ सालमा उक्त कार्यक्रम खारेज भयो । २०४८ सालमा आएर भार्सेकै झकबहादुर पुन प्रतिनिधी सभामा कांग्रेसबाट निर्वाचित भए । २०७० सालको निर्वाचनमा त्यसै गाउँका डाक्टर कृष्णप्रसाद छन्त्याल पनि सांसद बनेका थिए ।

पश्चिमाञ्चल विकास क्षेत्रको शैक्षिक केन्द्र पनि हो गुल्मी। आज भन्दा १ सय ५० वर्ष अघि नै रिडीमा संस्कृत पाठशाला खुलेको हो । संस्कृत शिक्षाका हिसावले रिडी र आधुनिक शिक्षाका हिसावले भार्से गाउँ पश्चिमाञ्चलकै पुराना शैक्षिक केन्द्रमध्ये पर्दछ । भार्सेमा १९८७ सालमा भाषा पाठशाला खुलेको हो । २००८ सालमा निम्न माध्यमिक विद्यालय स्थापना भयो । २०१६ सालमा माध्यामिक विद्यालय स्थापना भयो । गुल्मीका विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट समेत खर्च( पिठो–चामल) बोकेर भार्सेमा पढ्न जाने चलन पंचायतकालको अन्त्य सम्म नै थियो । भार्सेमा पढेका विद्यार्थीहरु धेरै डाक्टर, इन्जिनियर भएका छन् । यसका अलवा देशी विदेशी फौजमा उच्च तहमा पनि पुगेका छन् । पिएचडी गर्नेहरु पनि उल्लेख्य छन् । सेना तथा प्रहरीको उच्च पदमा पुग्नेहरुको संख्या पनि उत्तिकै छ । खेलकुँदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरका श्याम थापा भार्सेकै हुन् ।

भार्सेको जुनियाका होमबहादुर सेन पनि बेलायती सेनामा क्याप्टेनसम्म भए । पंचायतकालमा प्रधानपन्च समेत भएका पदमलाल पुनको भार्सेमा ठूलो लगानी छ । उनका छोरा झकबहादुर पनि २०४८ सालमा सम्पन्न मुलुकको दोस्रो आम निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रपमा गुल्मी क्षेत्र नं १ बाट सांसद निर्वाचन भएका थिए । भार्सेकै कृष्ण छन्त्याल पनि सांसद बने । कुलबहादुर वुढाथोकी गोर्खा सिंग्नलका टेक्निसियन इन्जिनियर हुन् । उनी हाल हङकङमा सबै भन्दा बढी तलव खाने नेपालीका रुपमा रहेका छन् । उनले भार्सेको विकास निर्माण तथा समाजसेवामा ठूलो योगदान पुर्याइरहेका छन् ।

दिलबहादुर रानालाई भार्सेमा डाक्टर भनेर चिनिन्छ । उनले धेरै गर्भवती तथा सुत्केरी एवं नवजात शिशुको ज्यान बचाएका छन् । पिसाव रोकिएर मृत्युको मुखमा पुगेका बिरामीलाई घरैमा पुगेर उपचार गरी ज्यान बचाएका छन् । सडक यातायातको सुविधा नहुँदा उनी भार्सेमा भगवानकै रुपमा प्रकट भएका थिए । करगिल राना, केराउनबाट भार्सेमा आएर पढाउने धनबहादुर गुरुङको पनि ठूलो योगदान छ ।

यसरी गुम्यो बैभव
कुनै बेला सबै दृष्टिले गुल्मीकै सबै भन्दा धनी गाउँ थियो भार्से तर त्यही धनले पुर्ख्यौली गाउँ छाड्ने बनायो भार्सेलीलाई । अहिले करिव ७० प्रतिशतले भार्से छाडेका छन् । धेरै घरहरु रित्ता छन् । भार्सेको झण्डै दुई तिहाई जमिन पनि बाँझै छ । कतिपयले दाजु भाई र नातागोतालाई घर धुवाँर्न दिएर छाडेका छन ।

२०४७ सालसम्म पनि भार्सेमा ५ सय २० घरधुरी थिए । बसाई सराई नगरेको भए अहिले त्यसको तेब्बर घरधुरी संख्या हुनु पर्दथ्यो । जबकी अहिले जम्मा ३ सय २९ घरधुरी छन । ती मध्ये पनि धेरैले घर त्यति कै छाडेर रुपन्देही र काठमाण्डौ तिर बसाई सराई गरेका छन । २०५२÷ ०५४ साल तिर हङकङको आईडी खुले पछि ठुलो संख्यामा भार्सेलीहरु त्यता लागे । त्यसका अलवा बेलायतमा पनि धेरै पुगे । सिंगापुर लगायत धेरै मुलुकमा पनि छरिएर बसेका छन । दोश्रो विश्व युद्धताका मलेसिया र वर्मा तिरै बसेकाहरु पनि छन् ।

स्वर्ग छाडेर नर्कमा बास
जब म भार्सेको देउराली डाँडामा पुगेँ, तब मैले देखेँ पानारामा भ्यु अनि स्वर्ग भनेको यही नै होला जस्तो लाग्यो । नेपालका आधा भन्दा बढी हिमाल मेरा आँखा अगाडी देखिए । त्यस क्रममा एउटा अचम्मको दृश्य मेरा आँखामा अडिइरह्यो । त्यो पहाड हिमाल नभएर कालो पिरामिड जस्तो अर्थात काला पत्थर जस्तो देखिएको थियो । साच्चै त्यहाँ एक मुठी हिउँ पनि थिएन । मलाई दुख लाग्यो । के भयो यस्तो ? भनेर मनमा धेरै प्रश्न उब्जियो । सायद हामीले विकास तथा रहनसहनको सुविधाका लागि धेरै दोहन गरेर प्रकृतिलाई नै सिध्याइ सकेछौंकी जस्तो लाग्यो । विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) का कारण हाम्रा हिमालमा हिउँ जन्म छाडेको जस्तो छ ।

अब हामीले पिउने पानी समेत समाप्त हुनेछ । हाम्रो सुन्दर देश पनि मरुभूमीमा परिणत हुनेछ । यो ज्यादै दुख लाग्दो समाचार हो । यो समस्या आउन नदिन हामीले के गर्न सकिन्छ ? प्रदुषण बढाउने पेट्रोलियम पदार्थको साटो हाम्रै जलविद्युत प्रयोग गर्ने हो भने ग्लोवल वार्मिङको समस्यालाई पछाडी धकेल्न सकिन्छ ।

दूरदर्शी पुर्खाहरुले रोजेको स्वर्ग जस्तो ठाउँ छाडेर हामीले फोहरको डुंगुर भएको नर्कमा बस्न रोजेका छौं । आफूले कमाएको पैसा औषधी उपचारमै खर्च गरेका छौं । तर भार्सेमा एउटा हेल्थपोष्ट छ , जहाँ बिरामी उपचारका लागि पुगेको देख्न पनि हप्तौं पर्खनु पर्छ । ८७ – ८८ वर्षका मान्छे आफ्नो खेतीमा व्यस्त भएको देख्न पाइयो । मेरो ससुरा बुबा दिलबहादुर रानाकी ९१ वर्षीया दिदीले अहिलेसम्म सिटामोल समेत खान नपरेको सुनाइन् । बेलुका खानाखानु अघि नियमित रुपमा थोरै कोदोको रक्सी पिउने गरेको पनि मैले प्रत्यक्ष सुने । १ सय वर्ष नाघेकाहरुको संख्या त उल्लेख्य रहेछ भार्सेमा । यसको रहस्य भनेकै भार्सेको स्वस्थ्य हावापानी हो । भार्सेवाट तराई तथा शहर बसाँइ सरेर आफ्नो गाला आफेनै हातले पिट्दै पंखाको तातोहावामा दिन काट्नेहरुको संख्या पनि उल्लेख्य छ । भार्सेको आफ्नो घर चुहिएर भत्कँदै छ । बेलायत, हङकङ, काठमाडौं, पोखरा वुटवल बसेर आफ्नो स्वर्ग गुमाई रहेका छन् भार्सेलीले ।

तर एक जना दूरदर्शी किसानले नमुना तरकारी खेती, बाख्रा पालन, र अगर उड खेति गरेको देखियो । अगर उड सुन भन्दा महंगो रुख हो । उनी तथा उनका सन्तानको भविष्य उज्जल छ । अहिले नै एउटा अगर उडको रुखको मुल्य एक करोड रुपैंयाको भइसकेको छ । विदेशमा गएर हण्डर खाएर फर्केपछि आफ्नै भीरपाखामा सुन फलाएर रमाइ रहेका छन् उनी । उनलाई अमेरिका, बेलायत, स्वीटजरल्याण्ड यहीँ भएको छ । आफ्नो स्वर्गरुपी गाउँलाई बिर्सेर नर्करुपी शहरमा बसेका भार्सेली समुदायले सुख सयल, गाडी मोटर त प्रयोग गरे होलान् तर, सँगसँगै रोगको भारी पनि बोकर हिडेका छन् ।

यो पंतिकार स्वर्गरुपी भार्सेलाई जननी सम्झेर बसेका महान दाजुभाईलाई स्यालुट गर्न चाहान्छ । दुःखका साथ यो पंतिकार भार्सेली धनाढ्य, शिक्षित, विभिन्न उच्च तहमा रहेका दिदीबहिनी दाजुभाईलाई आग्रह गर्छ कि यो स्वर्ग भूमिलाई पर्यटकिय क्षेत्र बनाउनुहोस् । यदी तपाईहरुले यो क्षेत्रमा बस्ती बसाल्ने र यो स्वर्गरुपी ठाउँलाई संसार चिनाउन लाग्नु भएन भने तपाई मात्र नागरिक गुल्मेली हुनहुनेछ । भूमिपुत्र होइन ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.