लुकाछिपाई लगेको सुन र चाँदीसहित दुई भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 11 | 02:22 pm 38

धनुषा, फागुन २७ : विभिन्न किसिमका तरिका र विधिहरु अपनाएर अवैध रुपमा सुन चोरी तस्करी गर्ने गरेको पाइएको छ । मोटरसाइकलको पेट्रोल ट्यांकीभित्र अवैध सुन र चाँदी लुकाई भारततर्फ लैजाने क्रममा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो सुडी र ३० वर्षीय रूपेश महतो सुडी रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुले प्रयोग गरेका बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्यांकीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले उक्त नट खोलेर हेर्दा ट्यांकीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद गरेकाे प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

चेकजाँच गर्दा बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाए ।

प्रहरी उपरीक्षक खनालका अनुसार बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल रहेको बताए ।

उनीहरुलाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भई रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.