लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जना युवा पक्राउ

| 2020 May 22 | 07:46 am 198

दार्चुला, जेठ ९ः भारतले अतिक्रमण गरेकाे भूमि लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जना युवालाई व्यास गाउँपालिका– २ दुम्लिङबाट प्रहरीले पक्राउ गरेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए ।

उनीहरुलाई पक्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले देखाएको छ । साथै, उनीहरु चन्द समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउद रहेका छन् ।

जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा पर्चा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । लकडाउनको अवस्थामा उनीहरु लुकेर व्यासको दुम्लिङ पुगेका बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.