लद्दाखकाे झडपमा नियन्त्रणमा लिएका १० भारतीय सैनिक चीनद्वारा रिहा

रिपोर्ट नेपाल | 2020 Jun 19 | 09:04 am 53

एजेन्सी, असार ५ः चीन र भारतबीचकाे सीमा लद्दाखमा भएकाे झडपका क्रममा नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई चीनले रिहा गरेकाे छ । सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै देशकाबीच उच्च तहमा भएको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो । बीबीसीका अनुसार सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको हो ।

पूर्वी लद्दाखको गलवान उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर चिनियाँ सेनासँगको भिडन्तमा सन् १९६२ मा भएको चीन-भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ । पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सैनिकहरूको योगदान व्यर्थै खेर जान नदिने बताए ।  ‘म आश्वस्त पार्न चाहन्छु कि हाम्रा सैनिकहरूको योगदान व्यर्थै खेर जान दिइने छैन,’ बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हाम्रा लागि राष्ट्रिय एकता र सम्प्रभुता सबैभन्दा महत्वपूर्ण विषय हो । भारत शान्ति चाहन्छ तर कसैले भड्काउन खोज्यो भने त्यसको जवाफ दिन पनि सक्षम छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.