लघु चलचित्र प्रतियोगिता सम्पन्न

रिपोर्ट नेपाल | 2020 Sep 11 | 08:42 pm 50

काठमाडौं, भदौ २६ः शुक्रबार जंगी अड्डामा आयोजित लघु चलचित्र प्रतियोगिता २०७६ का उत्कृष्ट लघु चलचित्रहरुलाई एक समारोहकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

उक्त समारोहमा प्रधानसेनापति थापाले लघु चलचित्र प्रतियोगिता २०७६ मा प्रथम हुने प्रशुन सिन्धुलियाको (देशलाई छुने पाईला), द्वितीय हुने पुरुषोतम बस्नेतको (रगत) र तृतीय हुने बसन्त शर्मा अधिकारीको (लक्ष्य) लाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रधानसेनापति थापाले प्रतियोगितामा चौंथो र पाँचौं स्थान प्राप्त गर्ने क्रमशः अनिरुद्ध दुवाडीको (समर्पण) र अनिल कुमार महर्जनको (गौरव) लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र गरेका थिए भने प्रतियोगिताका १० उत्कृष्ट सहभागीहरुलाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको शुभारम्भ बरिष्ठ कलाकार सरिता लामिछानेले लघु चलचित्र प्रतियोगितामा सहभागी लुघ चलचित्र मूल्याङ्कनविधिको बारेमा प्रकाश परेकी थिइन् ।

नेपाली सेनाले २०७६ सालदेखि बार्षिक रुपमा आयोजना गर्दै आएको यस प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मूल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आइरहेको छ ।

कोभिड १९ का कारण स्थगित भएको उक्त कार्यक्रम सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड १९ सम्बन्धि सम्पूर्ण सुरक्षा मापदण्डहरु अवलम्बन गरी समापन कार्यक्रम आयोजना गरिएको हो ।

उक्त प्रतियोगिताका लागि ३८ वटा लघु चलचित्र निर्माणको लागि निवेदन प्राप्त भएकोमा स्क्रिप्ट र छायाङ्कनको आधारमा उत्कृष्ट १० वटा लघु चलचित्रिहरुलाई अन्तिम प्रतिस्पर्धाको लागि छनौट गरिएको थियो ।

सो कार्यक्रमको अवसरमा रथीवृन्द, चलचित्रकर्मी कलाकार तथा नेपाली सेनाका सिमित अधिकृतहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.