लकडाउनमा पनि भेरी बबई आयोजनाको काम धमाधम

| 2020 May 02 | 08:34 am 57

सुर्खेत, बैशाख २०ः कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाधम भइरहेको छ । त्यहाँ कार्यरत मजदुर तथा प्राविधिक र आवश्यक सामग्रीहरू मौज्दातमा राखिएकाले बन्दाबन्दीको असरले आयोजनालाई छोएको छैन ।

आयोजनाको मुहानस्थल सुर्खेतको भेरी गङ्गा नगरपालिकाको चिप्लेमा अहिले दोस्रो चरणको कामअन्तर्गत ड्याम, हेड वर्क र पावर हाउस निर्माणका काम धमाधम भइरहेको छ । पहिलो चरणमा पर्ने सुरुङ खन्ने काम २०७५ वैशाख १ गते नै भइसकेको छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम)बाट १२ किमी सुरुङ खनिएको छ ।

सुरुङको ब्रेक थ्रुपछि अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ । अहिले मुख्य गरी पानीको बहाव फर्काउने कफर ड्यामको काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बन्दाबन्दीको समयमा पनि मेसिनले गर्ने काम धमाधम भएको बताए। उनका अनुसार आयोजनाको सुरुङ मार्ग खनिएपछि दोस्रो चरणअन्तर्गत हेडवर्क र पावर हाउसको काम भइरहेको छ । इन्जिनियर पण्डितले आयोजनाको ४० प्रतिशत काम सकिएको बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.