लकडाउनकाे बेला यार्सागुम्बा संकलन गर्ने १२ जना पक्राउ

| 2020 Jun 05 | 01:49 pm 61

डाेल्पा, जेठ २३ः काेराेना महामारीका कारण यार्सागुम्बा संकलनमा राेक लगाए पनि जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे पाटनबाट लुकिछिपी यार्सागुम्बा संकलन गर्ने १० जना पुरुष र दुई जना महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ की २१ वर्षीया राजकुमारी सार्की, १४ वर्षीया सिर्जना सार्की, १९ वर्षीय गोविन्द सार्की, १४ वर्षीय गणेश सार्की, १५ वर्षीय युवराज सार्की, १५ वर्षीय कृष्ण विक, ३० वर्षीय दिलबहादुर सार्की, १९ वर्षीय रमेश सार्की, २१ वर्षीय कालीबहादुर सार्की, १८ वर्षीय धनराज विक, २६ वर्षीय देवबहादुर सार्की र १४ वर्षीय दिपक सार्की रहेका छन्।

कोरोना भाइरसका कारण यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनमा लुकिछिपी यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म, स्थानीय मध्यवर्ती समिति र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ती टोलीले यार्सागुम्बासहित उनीहरूलाई नियन्त्रणमा लिएको बताइएकाे छ ।

उनीहरुकाे साथबाट ७७ थान यार्सागुम्बा, पाँच थान मोबाइल सेट, पाँचवटा कुटा, एउटा खुकुरी लगायतका सामग्रीहरु बरामत गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको नेपाली सेनाका मेजर लेखनाथ कटुवालले जानकारी दिए।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शे–फोक्सुण्डो निुकञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.