रेसुङ्गामा काँग्रेसको तर्फबाट सभापति पन्थीद्वारा प्रमुखको उम्मेदवार

रिपोर्ट नेपाल | 2022 Apr 24 | 01:28 pm 1153

  • रमेश विश्वकर्मा

गुल्मी, वैशाख ११ः आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिले नगरपालिकाको प्रमुख पदमा तीन जनाको नाम क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिमा सिफारिस गरेसंगै क्षेत्रबाट आएको राय सहितको सिफारिसलाई जिल्ला कार्यसमितिले पनि जिल्लाको रायसंगै नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा पठाएको थियो । प्रदेश कार्यसमितिले सभापति पन्थीलाई नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनताको प्रत्यक्ष जीविकोपार्जन सँग जोडिएर काम गरेका नेताका रुपमा परिचित सभापति पन्थी नगरपालिकाको प्रमुख पदका लागि उमेदवार बनेका हुन् । उनी रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । झन्डै ९ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्याधिक मतले नेपाली कांग्रेस गुल्मी सभापतिमा बिजयी भई संगठनलाई चुस्तदुरुस्त पार्दै र विशेष गरि युवा पुस्ताको बढी मन जित्दै आएका छन् ।

नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले आफू नगरपालिकामा बहुमतका साथ बिजयी हुने पन्थीको दाबी छ । उनले सधै नेपाली कांग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउदै आएका छन् ।

पटक–पटक मन्त्री बन्दा एउटा पनि खोलामा पुल नबनेको गुल्मीमा उनको पहलमा तमघास–सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेका छन् । पन्थी आफू सत्ता बाहिर रहेर पनि गुल्मी जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी बजेट माग गर्न बारम्बार सरकार समक्ष पुग्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.