राष्ट्रिय परीक्षा बोर्डमा बेथिति – ‘प्रदेशमा शिक्षाका कर्मचारी राख्दा हामीलाई बेवास्ता भयो’

रिपोर्ट नेपाल | 2022 Mar 27 | 07:54 am 209

काठमाडौं, चैत १३ः राष्ट्रिय परीक्षा बोर्डलेमा बल्झिएको बेतिथिको कारण अधिकांश कर्मचारी संस्थाको विकल्प खोजिरहेका छन् । १७ वर्षसम्म बढुवा हुन नसकेका उपसचिव, अधिकृत र अन्य कर्मचारीले सदस्य सचिवको दुर्गा अर्यालका कारण समस्या बढ्दै गएको बताउन थालेका छन् । सदस्य सचिव अर्यालकै कारण अधिकांश उपसचिव, अधिकृत र अन्य कर्मचारी कार्यालय आउने र घाम तापेर फर्कने गरेका छन् ।

एक उपसचिवले नेपाल समाचारपत्रसँग बुधबार गुनासो गरे– ‘के गर्ने हामी त खटाएका प्रदेश कार्यालयमा जान तयार थियौं, सदस्य सचिवले मुख्यालयमै थन्क्याएर राख्नुभएको छ ।’

परीक्षाको मात्र काम गर्ने बोर्डमा परीक्षाबाहेक कुनै महाशाखाको औचित्य छैन तर बोर्डले उपसचिव र अधिकृतलाई थन्क्याउकै लागि महाशाखा बनाएर जिम्मा दिएको छ । रापबोर्डले स्थापना गरेको १२ वटा क्षेत्रमा रहेको प्रदेश र सम्पर्क कार्यालयमा सरुवा गरे सोही स्थानमा जान तयार रहेको अवस्थामा सदस्य सचिव अर्यालले अनुहार हेरेर आफू निकटका कर्मचारीलाई मात्र काम दिने गरेपछि वर्षांैदेखि समस्या भएको कर्मचारीको आरोप छ ।

सदस्य सचिव अर्यालले कर्मचारी बढुवा गर्ने प्रक्रिया अघि नबढाएकै कारण अधिकांश उससचिव मानसिक तनावमा छन् । सदस्य सचिवकै चेपुवाका कारण उपसचिव डा. रामचन्द्र पाण्डेले राजीनामा दिएका छन् । अन्य कर्मचारी पनि अन्यत्र काम पाए बोर्डबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उच्च स्रोतका अनुसार सदस्यसचिव अर्यालले मन्त्रीसँग कुराकानी गर्ने क्रममा १७ वर्ष पुगेको उपसचिवलाई बढुवा नगरेर अन्य कर्मचारीलाई पनि सँगै बढुवा गर्न दबाब दिन थालेका छन् । उनकै ढिपीका कारण समस्या बढेको कर्मचारीको आरोप छ ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले समेत बढुवा गर्ने विषयमा चासो दिन छाडेकाे कर्मचारीको आरोप छ । कर्मचारीको गुनासो छ– ‘हाम्रा अधिकांश प्रदेश कार्यालयमा शिक्षा सेवाका कर्मचारी कार्यरत छन्, हामी भने बेकामे भएर घाम ताप्दै घर फर्कनुपर्ने बाध्यता छ । नयाँ मन्त्री आउनासाथ बढुवाको विषयमा छलफल हुँदा पनि सदस्य सचिव अर्यालको बेवास्ताले गर्दा समस्या पर्ने गरेको छ ।’

बोर्ड स्रोतका अनुसार शिक्षा सेवाका १० जना उपसचिव र करिब ४ जना अधिकृत र प्राविधिक सहायकले विभिन्न प्रदेश कार्यालयमा काम गरिरहँदा रापबोर्डका कर्मचारी भने मुख्यालय कुरेर बस्नु परेको छ । रापबोर्ड स्रोतका अनुसार उपसचिवहरूमध्ये विराटनगरका प्रदेश परीक्षा बोर्डका युवराज पौडेल र जीवन गड्तौला, हैटौडाका कृष्णप्रसाद घिमिरे, काठमाडौंमा उषा पौडेल कँडेल, पोखराका विष्णुनारायण श्रेष्ठ र लक्ष्मण देवकोटा, कोहलपुरका भगवान् पौडेल, सुर्खेतका सुवासचन्द्र आचार्य, डडेल्धुराका नारद खतिवडा र दाङका रामलाल खड्काले प्रमुखको जिम्मेवारी पाएका छन् ।

आफ्नै कर्मचारी बढी भइरहेको अवस्थामा सरकारी सेवाका उपसचिवलाई काममा लगाउन नहुने विषयमा सदस्य सचिवले एक शब्द बोल्न नसकेको गुनासो गर्दै उपसचिवहरू भन्छन्– ‘मन्त्रालयमा कुराकानी गर्दा बोर्डकै उपसचिवलाई खटाउन सकिने जानकारी गराएका भए हामीबाटै सबै काम हुने थियो । यस विषयमा अध्यक्ष डा शर्मालाई जानकारी गराउँदासमेत खासै चासो दिएको पाइएको छैन ।’

डडेल्धुराको प्रमुख रिक्त भएको करिब दुई महिना बित्न लाग्दासमेत बोर्डले अर्को कर्मचारी खटाउन सकेको छैन । सो कार्यालयमा ३ वर्षदेखि लेखा सहायक खाली छ । लेखाका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने–‘सदस्य सचिवको मनपर्ने कर्मचारी फेला नपरेर होला, अन्य कर्मचारी खटाउने विषयमा कुनै चासो दिएका छैनन् ।’ विराटनगरका शाखा अधिकृत शालिकराम काफ्ले, सुर्खेतका प्राविधिक सहायक टीका रोकायासमेत शिक्षा सेवाकै छन् ।

बोर्डमा अधिकांश कर्मचारी अस्थायी, करार र ज्यालादारी छन् । सदस्य सचिवकै कारण स्थायी कर्मचारीले पनि काम पाउन सकेका छैनन् । राप बोर्डमा हाल ३ सय ८१ कर्मचारी कार्यरत् छन् । तीमध्ये १ सय २२ जना मात्र स्थायी कर्मचारी हुन्, बाँकी १ सय ५९ जना कर्मचारी अस्थायी, करार र ज्यादारी छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.