रामेछापमा आगलागी, ११ घर जले

रिपोर्ट नेपाल | 2022 Mar 27 | 08:03 am 457

रामेछाप, चैत १३: रामेछाप नगरपालिका ७ मा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ। शनिबार दिउँसो विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार एकैछिनमा फैलिएको आगोले ११ घरसहित अन्य ११ वटा गोठ पनि जलेको छ।

श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शंकर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठको घरमा पनि फैलिएको थियो। उनीहरू सबैको घर र गोठ जलेको प्रनाउ थिङले जानकारी दिए।

आगो नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा करिब ५ घण्टामा नियन्त्रणमा आएको थियो। आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानसहित गोठमा रहेका केही पशुचौपाया पनि जलेका छन्। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घरमा लागेको आगो नजिकैको जंगलमा पनि फैलिएको छ। जंगलको आगो भने समाचार तयार पार्दासम्म नियन्त्रणमा आएको छैन।

आगलागी पीडितलाई अस्थायी टहरा बनाएर राखिएको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले जानकारी दिए। तत्काललाई नेपाली सेना र रामेछाप नगरपालिकाले पीडितलाई खाद्यान्न र लत्ताकपडाको व्यवस्थापन गरेको छ। आगलागी पीडितका लागि खाद्यान्न, ओड्ने र ओछ्याउने म्याट, भाँडाकुँडालगायतका सामग्री व्यवस्थापन गरिएको रामेछाप नगरपालिकाका उप–प्रमुख सिर्जना खड्काले बताएकी छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.