राणाकालदेखि गणतन्त्रसम्म हुन सकेन प्रशासनिक केन्द्र

रिपोर्ट नेपाल | 2020 Oct 16 | 08:14 am 26

रूपन्देही, असाेज ३०ः प्रदेशसभाको दुई तिहाई मतले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र (भालुवाङ) पारित गर्याे। प्रदेशका १२ वटै जिल्लाको भोगौलिक दुरी र ‘भर्जिन ल्यान्ड’मा राजधानी सहरको विकास गर्ने दलिलका साथ स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमा राप्ती नदीकिनारको मैदानी भाग देउखुरी क्षेत्रलाई तोकिएको हो।

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बुटवल र दाङपक्षीय नेताका कारण यो मुद्दा निकै पेचिलो बनेको थियो। तर कोरोना महामारीले जीवनमरणको दोसाँधमा रहेकै बेला मुख्यमन्त्री शंकर पोखरेल, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतीय दस्तावेजले सहजै दुई तिहाई बहुमतले दाङको देउखुरी क्षेत्र स्थायी राजधानीका रूपमा घोषणा भएको छ। राजधानी अर्थात् प्रशासनिक केन्द्र नतोकिएपछि बुटवलमा आक्रोश चुलियो। सदनमा विपक्षीको कुर्सी फालाफाल र सडकमा मुख्यमन्त्रीसवार गाडीलक्षित ढुंगा प्रहारसम्म भयो। दुई तिहाईभन्दा बढी मतले स्थायी राजधानी टुंगिएपछि बुटवल शान्त छ। तर ऐतिहासिक, सामरिक र राजनीतिक रूपमा स्थापित बुटवल फेरि एउटा अवसरबाट ठगिएको विश्लेषण गरिएको छ। साविक लुम्बिनीका ६ जिल्ला, भेरी र राप्तीका केही जिल्लाको समेत बुटवल केन्द्रमा छ।

१८७१/७२ सालमा तत्कालीन अंग्रेज फौजसँगको लडाइँमा बुटवलस्थित तिनाउ नदीकिनार जितगढी किल्लाबाट कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली सेनाले अंग्रेजलाई परास्त गरेको थियो। अंग्रेज हराएको ठाउँ भनेर विश्वभर नै चर्चा भए पनि बुटवलले भने अहिलेसम्म इतिहासदेखि नै प्रशासन चलाउन भने पाएको छैन। सेनकालदेखि राणा हुँदै गणतन्त्रसम्म पनि बुटवलले प्रशासनिक नेतृत्व गर्ने अवसर नपाएको जताततै विश्लेषण भइरहेको छ।

राणाकालमा पनि तानसेन राज्यको नजरमा थियो, त्यसपछि प्रजातन्त्र आएपछि पनि बुटवललाई महत्व दिइएन, अहिले फेरि प्रदेश राजधानी हुनबाट बुटवल ठगियो, बुटवल नगरपालिकाका पूर्वउपमेयर विमलबहादुर शाक्यले भने। अंग्रेज हराउने बुटवलले कहिल्यै पनि प्रशासन चलाउन नपाएको बताउँदै यसबाट शासकले इतिहासलाई सम्मान गर्न नसकेको उनको तर्क छ। बुटवलको इतिहासका अध्येतासमेत रहेका उनले भने, बुटवलको गरिमा र योगदानलाई अहिले पनि भुल्ने काम भयो। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.