राजनीति सुद्धिकरणको एकमात्र बिकल्प महिला नेतृत्व

| 2020 Jun 25 | 07:19 pm 102

  • रिना भट्ट

वर्तमान राजनीतिक अबस्था देखेर आज अधिकांश नेपाली जनताले गणतन्त्र, लोकतान्त्रिक परिपाटी र नेपालले अपनाएको शासकीय स्वरूप अर्थात् संसदात्मक शासन व्यवस्था प्रणालीलाई नै नकारात्मक रुपमा हेर्न प्रारम्भ गरिसकेका छन् ।नकारात्मक तत्व यो ब्यवस्था भित्र होइन ब्यवस्था संचालन गर्ने ब्यक्तिहरू भित्र छ भन्ने हामी सबैले बुझ्नै पर्छ। समस्या समाधान ब्यवस्था परिवर्तन होइन, बरू ब्यवस्था संचालनमा लैङ्गिक परिवर्तन हुनु नै समस्या समाधानको मुख्य उपाय हो। त्यो भनेको नै नेतृत्वको हस्तान्तर पुरूषबाट महिलामा हुनु पर्ने हो । तर, पुरूष नेतृत्वले सजिलैसंग दिँदैनन् हामी महिलालाई नेतृत्व गर्न ।

हामीले खोसेर लीन सक्नु पर्छ अब नेतृत्व पुरूषको हातबाट। त्यो भनेको नै महिलाको ब्यापक राजनीतिमा प्रबेश र आफ्नो काबिलियत र योग्यताको प्रदर्शन हो। अब महिलामा नेतृत्वको हस्तानतरण नै नेपाल को राजनीतिलाई सफलता पूर्वक संचालन गर्ने एकमात्र उपाय हुन सक्छ । ढिलो चाँडो नेपालको राजनीतिमा महिलाको नेतृत्व आवश्यक भईसकेको छ । नेपालको राजनीतिको भबिष्य अब महिलाबाट नै तय हुनेछ। राजनीति बिषयमा काबिल महिला अब नेपाली राजनीतिमा अगाडि आउनै पर्छ।

संसारको कैयन राष्ट्रहरूमा महिलाहरु राजनीतिमा अगाडि आइरहेको बेला नेपाल पनि यो अवस्थाबाट अछुतो रहन सक्दैन । अब बिस्तारै बिस्तारै नेपालमा पनि राजनीतिमा महिलाको भागिदारी बढ्दै जानेछ र जब राजनीतिमा महिला भागिदारी बढ्दै जान्छ तबमात्र यो देशको राजनीति ब्यवस्था अवस्य सुधार उन्मुख हुनेछ किन भने महिला भनेको मातृ शक्ति हो उसमा प्रेम ममता र समर्पण हुन्छ जसको कारण उसले आजको नेतृत्वले जस्तो गल्ती गर्न सक्दैनन्। पुरूष नेतृत्व जस्तो भ्रष्टाचार गर्दैनन्। ती पुरुष नेतृत्व जसमा प्रेम छैन जसमा ममता छैन जसमा भातृत्व छैन जसमा भाइचारा छैन जसले देशलाई जाति धर्म र भाषामा बिभाजन गरेका छन् यो बिभाजनलाई एकतामा परिणत सिर्फ मातृशक्ति अर्थात् महिला नेतृत्व मात्र हुन सक्छ अरू कसैले सक्दैन।

यदि हामीलाई आ–आफ्नो घरका आमा दिदी बहिनी, छोरी बुहारीमा राजनीतिको ज्ञान र शासन संचालन गर्ने शक्ति छ भन्ने लागेमा राजनीतिकमा प्रबेशको लागि प्रोत्साहन गरौं, उनीहरूलाई अगाडि आउन मौका दिउँ र काँधमा काँध मिलाई अगाडि बढ्न हौसला दिउँ। तब मात्र एकदिन नेपाल राष्ट्रको बिग्रिएको राजनीतिलाई बाटोमा ल्याउने काम नेपाली महिला नेतृत्वले गर्नेछ।

नेपालको राजनीतिमा परिवर्तन गरेर लोकतान्त्रिक नेपालको इतिहास लेख्ने काम सिर्फ महिलाले गर्नेछन्।पछिल्लो समय बिश्व राजनीतिको क्षितिजमा महिलाको बाहुल्यता बढ्दै गई रहेको देखिदैछ। सन १९९० यता तीस वटा राष्ट्रको सरकार प्रमुख महिला नै रहेका छन्। बिभिन्न देशहरूमा महिलालाई राजनीतिमा र नीति निर्माणको तहमा प्रबेश गराउन बिशेष ब्यवस्था गरेको पाइन्छ । बिश्वका करीब ५० भन्दा बढी मुलुकमा महिलालाई त्यहाँको संसदमा निश्चित कोटा छुट्याई त्यही अनुसार ब्यवस्था गरेको छ। तर, हाम्रो देशमा भने कुल जनसङ्ख्याको ५१ प्रतिशत महिला हुँदा हुँदै निती निर्माणमा महिलाको उपस्थिति ज्यादै न्युन रहेको छ।

नेपालको संविधान २०७२ ले त सबै क्षेत्रमा ३३ प्रतिशत महिलालाई स्थान दिनु पर्ने गरिरहेको छ। यो संबैधानिक ब्यवस्थाले निती निर्माणमा महिलाको पहुँच बढाउने केही प्रयास गरेतापनि ब्यवहारमा खासै अंगिकार गरेको देखिँदैन। महिला र राजनीति बिषयमा सन २००० मा दक्षिण अमेरिकामा भएको सर्वेक्षणले के देखाएको छ भने ७२ प्रतिशत जनता पुरूषले भन्दा महिलाले गरिबी निबारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्छन्। ती जनताहरूले पुरूषले भन्दा महिलाले शिक्षामा सुधार गर्न सक्छन्, कुटनितीमा समेत महिला नै प्रभावकारी हुन सक्ने भनेका छन् । यी भनार्इबाट के प्रष्ट हुन्छ भने पुरूष नेतृत्व भन्दा महिला नेतृत्व सबैभन्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने कुरा बिश्वमा भएको बिभिन्न अध्ययनहरुले देखाउँदै लगेको पनि छ। नहोस पनि किन बिश्वको प्रजातन्त्रको अध्ययन गर्दा जब हामी महिला आफ्नो परिवार भित्र प्रजातन्त्र कायम गर्न सक्क्षम हुन्छौं भने देशमा प्रजातन्त्र कायम गर्न किन नसकौला। पुरूषले परिवारबाटै डिक्टेटरसिप प्रणाली चलाउदै आईरहेको अवस्थामा राष्ट्र पनि ति पुरूषद्वारा संचालित हुन्छ भने त्यहाँ कहाँबाट पूर्ण प्रजातान्त्रिक ब्यवस्था कायम हुन सक्छ ? त्यहाँ पनि कही न कही त डिक्टेटरसिपको अवसशेष त कायमै हुन्छ।

पुरूष भन्दा महिला बढी प्रजातान्त्रिक हुन्छिन्। तर पुरूष प्रधान समाजले के महिलालाई अगाडि बढ्न दिन्छ ? भन्ने प्रश्न आउँछ। अवस्य अगाडि बढ्न दिदैन हाम्रो जस्तो पुरूष प्रधान नेपाली समाजले महिलालाई। हाम्रो दिमागमा बच्चैदेखि स्त्री जाति भनेको घरको काम गर्नको लागि हो ।उ प्रत्येक घरको इज्जत हुन्, स्त्री पुरूष भन्दा कमजोर हुन्छन् जसको कारण पुरुषको जति बुद्दि र बिबेक हुदैन भन्ने कुरा सानैदेखि हाम्रो समाजले भनेको छ र हामीले सुन्दै पनि आएका छौं । जसको कारण प्रत्येक नेपालीको मानसपटलमा यो कुरा छापिएरै रहेको छ। तर, साच्चिकै भन्ने हो भने महिला पुरुष भन्दा बढी शक्तिशाली हुन्छन्।किनभने हामी सबैलाई जन्म दिने आमा नै महिला हुन्। यदि महिला नभएको भए हामी कसरी यो धर्तीमा आउथ्यौं ? जब महिलामा एउटा घरलाई जीवन भर राम्रो संग चलाउने क्षमता हुन्छ भने राष्ट् चलाउने क्षमता किन हुदैन ? राष्ट्र पनि त एउटा घर हो यदि महिलालाई राष्ट्र कसरी संचालन गर्ने भन्ने ज्ञान राजनीति बिज्ञान मार्फत प्राप्त हुन्छ भने ती महिलाले पुरुषले भन्दा राम्रो संग राष्ट्र संचालन गर्न सक्छिन्।

आज यस्तो समय हो जहाँ हरेक क्षेत्रमा महिलाले आफ्नो योग्यता प्रदर्शन गरेकी छिन्। सेनामा, प्रहरीमा, प्रशासनमा, बायुसेनामा महिलाहरू अगाडि बढिरहेका छन्। राजनीतिमा महिला नेतृत्व हुनको लागि सिर्फ समानतामा, प्रजातन्त्रमा बिश्वास गर्ने प्रत्येक घरका पुरुषले महिलालाई राजनीतिमा आउन घर घरबाट प्रेरणा दिनु पर्छ। पुरूषको काँधमा काँध मिलाएर मात्र महिला अगाडि बढ्न सक्छन्। एउटा छोरीको राजनीतिमा सफलता उसको बुवाको लागि खुसी हुन सक्छ, एउटा पत्नीको राजनीतिमा सफलता उसको श्रीमानको लागि खुसी हुन सक्छ भने एउटा आमाको राजनीतिमा सफलता उसको छोराको लागि खुसीको कुरा हुन सक्छ तसर्थ प्रत्येक घरका पुरुषले आ–आफ्नो घरमा भएको महिलाका राजनीतिक क्षमतालाई अगाडि ल्याउन सहयोग एवम् मद्दत गरौं। महिला पनि शिक्षित काबिल र पुरुष भन्दा बढी राजनीति ज्ञान भएको आज नेपालमा पनि धेरै छन्। बिश्वको महिला नेतृत्वको अध्ययनलाई हेर्दा के देखिन्छ भने अधिकांश महिला नेतृत्वले आफ्नो आर्थिक श्रोतको उपयोग स्वास्थ्य, शिक्षा, विकास निर्माण र सामाजिक कल्याणमा खर्च गर्छिन र थोरै मात्र सेना र सुरक्षामा लगानि गर्छिन्। यसले के देखाउँछ भने यदि महिलाले नेतृत्वदायि भुमिका निर्वाह गर्न पायो भने अहिले बिश्वमा देखिएको सैनिक खर्च बृद्धी रोकिएर गरिबी निबारणमा प्रयोग हुने थियो जसले बिश्वबाट गरिबीलाई निर्मुल पार्न सजिलो हुन्थ्यो। साथै महिला नेतृत्वमा कम भ्रष्टाचार पाइने पनि देखिएको छ।

युद्ध, हिंसा, आक्रोश, आक्रमण, प्रभुत्व कायम गर्ने सोच आदि इत्यादि कुरा महिलामा भन्दा पुरूषमा बढि देखिन्छ। तसर्थ यदि महिलालाई नेतृत्वमा ल्याइयो भने बिश्वमा देखिएको महिला हिंसा, बलात्कार, राजनीतिक प्रतिस्पर्धा, भ्रष्टाचारिता जस्ता समाजमा र राष्ट्रमा ब्याप्त समस्याहरू केही हदसम्म कम हुने थिए।

हाम्रो ५१ प्रतिशत महिला शक्ति अब राजनीतिको सिकार हुने होइन बरू राजनीतिको अंग हुनुपर्छ। महिला हिंसाको अन्त्य र बलात्कारको अन्त्य गर्न कोही पुरूष अगाडि आउदैन यो समस्या सदाको लागि अन्त्य गर्न अब महिला शक्ति नै अगाडि आउनु पर्छ। आफ्नो समस्या अब हामी आफैले समाधान गर्नुपर्ने हुन्छ । अब महिला असक्त, बाबु आमाको मायालु छोरी होइन अब महिला बाबु आमाको रक्षक अर्थात् नारी शक्तिले माता दुर्गाको रुपमा आएर भ्रष्टाचार, कालोबजारी, हत्या हिंसा बलात्कारलाई सदाको लागि अन्त गर्नु पर्छ । एउटा भाईको रक्षा गर्ने दिदी, एउटा बुवाको रक्षा गर्ने छोरी र एउटा श्रीमान्को रक्षा गर्ने श्रीमती र एउटा छोराको रक्षा गर्ने आमा बनेर राष्ट्र निर्माणमा सहभागी हुँदै राजनीतिमा प्रबेश मार्फत नेपालको पहिलो महिला प्रधानमन्त्री र महिला सरकार बनाउन घर घरबाट महिला राजनीतिमा आउनु पर्छ तब मात्र यो मूलुक सच्चा लोकतान्त्रिक गणतन्त्र नेपाल राष्ट्रमा परिणत हुन सक्नेछ अन्यथा समस्या जहाँको त्यही रहनेछ। (सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरूमा समर्पित लेख)

(लेखक पाटन संयुक्त क्याम्पस राजनितिशास्त्रकी प्रध्यापक एवम् राजनीतिक बिश्लेषक समेत हुन)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.