काठमाडौं, पुस ८ः युवतीलाई प्रयोग गरी डकैती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौं स्युचाटार बस्ने ४९ बर्षीय (सागर) भन्ने लालबहादुर श्रेष्ठ रहेका छन् ।
बुधबार सिन्धुली कमलामाई नगरपालिका २ का भोला बहादुर जर्घामगरलाई काठमाडौं रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकोमा निजलाई लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभारसम्म पुर्याउन अनुरोध गर्दा स्वीकार गरी चोभारमा पुर्याउदा त्यहाँ पहिले देखि नै बसेका अपरिचित ब्यक्तिहरुले रडको प्रयोग गरी नियन्त्रणमा लिएको र साथमा भएको ६ तोला सुनको सिक्री १ थान, मोवाईल २ थान, रेबन चस्मा १ थान र नगद ७ हजार समेत गरी अन्दाजि ६ लाख ३५ हजार बराबरको धनमाल लुटी फरार रहेको अपराध महाशाखामा निबेदन पेश भएको थियो ।
महाशाखाको निरन्तर अनुसन्धानबाट उक्त घटनामा संलग्न मध्ये सागर भन्ने लालबहादुर श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महाशाखाले जानकारी दिएको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा सागर भन्ने लालबहादुर श्रेष्ठ समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरी बिभिन्न
मानिसहरुलाई लुटपाट गरेको भन्ने बुझिन आएको हुँदा उक्त सम्बन्धमा समेत अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।