यार्सा संकलन गरी वर्षभरी गुजरा चलाउनेहरु मर्कामा

रिपोर्ट नेपाल | 2020 Jul 05 | 08:11 am 96

दार्चुला, असार २१ः कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण यार्सागुम्बा टिप्न नपाएपछि दार्चुलाका अधिकांश स्थानीयलाई के खाने र के लाउने भन्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस फैलिने डरले संकट व्यवस्थापन केन्द्रले यस वर्ष यार्सागुम्बा पाइने लेकहरु बन्द गरेपछि यार्सा संकलन गरी वर्षभरि गुजरा चलाउनेहरुलाई निकै मर्का परेको छ ।

विगतका वर्षमा जेठको अन्तिम सातादेखि यार्सा संकलन गर्न यार्सागुम्बा पाइने वनहरु खुला गर्ने गरिएकोमा यस वर्ष भने संकलन समय लगभग सकिँदासम्म यार्सा संकलकहरुले संकलन अनुमति पाएका छैनन् । विगतमा यार्सा संकलन गरी आम्दानी गरेको पैसाबाट वर्षभरि गुजरा गर्ने दार्चुलाका स्थानीय आम्दानी नहुँदा चरम आर्थिक मारमा परेका छन् ।

एकै घरका ३÷४ जनासम्म यार्सा संकलन गर्न जाने गरेकोमा लकडाउनका कारण सबैको आम्दानी गुमेको छ । गत वर्ष यार्सा संकलन गरी ३ लाख रुपियाँ आम्दानी गरेका अपी हिमाल गाउँपालिका‐६ का विशनसिंह बुढाथोकीले यस वर्ष यार्सा संकलन नै गर्न पाएका छैनन् ।
यार्सा संकलन गर्न नपाएपछि बुढाथोकीजस्तै धेरैको रोजगारी गुमेको छ ।

गत वर्ष यार्सा संकलन गरी कमाएको पैसा सकिएपछि ब्याँस गाउँपालिका‐२ दुम्लिङका चञ्चल सिंह जोहारीलाई पनि गुराजा चलाउन मुस्किल नै परेको छ । ४ जनाको परिवार भएका जोहारीले बच्चाहरुको विद्यालय शुल्क तिर्न र हातमुख जोड्न समस्या भएको बताए ।

स्थानीय सरकारले दिएको बाटोको योजनामा मजदुरी गरेर हातमुख जोड्न बाध्य भएको उनले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.