यस्तो थियो कांग्रेसले राजालाई पाल्पा लाने योजना

| 2019 Aug 10 | 11:30 am 87

शसस्त्रबल र धनबलमा टिकेका राणासामु जनबल निर्बल एवम् निर्धो थियो । कोतपर्व गराई जंगबहादुरले राणाशाहीको जग हाल्दा होस् वा रणोद्दीपलाई गोली हानी वीर शमशेरले सत्ता हत्याएको घटना । चन्द्र शमशेरले देव शमशेरलाई सत्ताच्युत गर्दा होस् वा मोहन शमशेरले पद्यम शमशेरलाई देशबाट धपाउँदा, राणाशासनभर शस्त्र नै हाबी थियो ।

राणाको शक्ति र कमजोरीबारे जानकार सवर्णले सन् १९४७ को अप्रिलमा ‘आजाद हिन्द’ फौजीमा काम गरेका अनुभवी मेजर पूर्णसिंह खबासलाई कलकत्त बोलाए । मुक्तिसेनाको संगठन बनाउने जिम्मेवारका साथ चौरङ्घीमा एउटा कार्यालय र आवासको व्यवस्था मिलाए । प्रथम द्धितीय विश्वयुद्ध लडेका बेलायती गोर्खा सैनिक र युवालाई समेटेर सैन्य संगठन बनाउन थालियो । सन् १९४८ जुनमा कलकत्तामा जम्मा भएका नेता तथा पूर्वसैनिकहरुको भेलाले मेजर पूर्णसिंहको अध्यक्षतामा मुक्तिसेना गठन गर्यो । अनि सुवर्णले भारतीय सेनामा कार्यरत आफ्ना भान्जा कप्तान थिरबम मल्ललाई राजीनामा गर्न लगाए । अनि मुक्तिसेनालाई संगठित गर्ने जिम्मेवारी दिए ।

सैन्य संगठन विस्तार, हतियारको प्रबन्ध र सैनिक तालिमको जिम्मेवारी देहरादुनको सैनिक स्कुलबाट दीक्षित मल्ललाई दिइएको थियो । ती दिन मल्लको व्यस्तता एकदमै बढी थियो । शसस्त्र क्रान्तिको काम गुप्त रुपमा भएकाले आफ्नो व्यस्तताबारे सोध्नेलाई भन्ने गर्थे, मामाले नयाँ बिजनेसमा हातहाल्नु भएको छ । त्यसैभा व्यस्त छु । शसस्त्र क्रान्तिको निर्णय भएपछि जिबि याक्थुम्बा समाबेश भए ।

दिलमान सिंह, डिबी राई जस्ता अनुभवी कमाण्डर मुक्तिसेनामा भर्ना भएका पाँच सय जति युवालाई हतियारको तालिम दिन ब्यस्त रहन्थे । गोप्य रुपमा बिराटनगर, धनकुटा, भैरहवा, पाल्पा वीरगंज र काठमाडौं गरी छ लक्षित इलाकालाई मुख्य प्राथमिकतामा राखेर अनुसन्धानात्मक कारबाही सुरु भयो । मुक्तिसेनालाई राणाका फौजको सुराकीका अतिरिक्त क्रान्तिप्रति सहानुभूति राख्ने व्यक्तिहरुको खोजी गर्ने जिम्मेवारी दिइयो । भरिया, व्यापारी वा यात्रुको भेषमा मुक्तिसेनाले राणाहरुको गतिविधि चियो गर्न थाल्यो ।

काठमाडौंपछि राणाहरुको ठूलो सैन्यशक्ति पाल्पामा थियो । प्रधानमन्त्रीको रोलक्रममा रहेकै बेला काठमाडौंबाट निष्कासित रुद्र शमशेर त्यहाँका बडाहाकिम थिए । उनीसँग सुवर्णको पुरानै सम्बन्ध र सम्पर्क थियो । सरकारप्रति बफादार व्यबहार देखाए पनि आफूहरुमाथि भएको अन्यायका कारण राणा शासकप्रति दुबैमा प्रतिशोधको भावना थियो ।

सुवर्णको संगतले रुद्रका पाँचै जना छोरा कांग्रेसनजिक थिए । कांग्रेसलाई राजा त्रिभुवनको समेत साथ रहेको भन्दै छोराहरुले पिता रुद्र शमशेरलाई आफूहरुले पनि साथ दिनुपर्ने राय राखेका थिए । तर रुद्र भन्ने गर्थे, ठीक छ तिमीहरुको कुरा म जान्दिनँ । मचाहीँ राजा त्रिभुवनले अनुरोध गरे मात्र लाग्छु । केटाहरुको हुल्लडमा लाग्दिनँ ।

रुद्रको आशय बुझेपछि सुवर्णले सुन्दरराज चालिसेमार्फत राजा त्रिभुवनलाई खबर पठाए, महाराजाबाट रुद्र शमशेरलाई विश्वास लिन सरकारबाट पत्र पठाइबक्सनुपर्यो । एकडेढ महिनापछि राजाले आफना विश्वासपत्र सुब्बा दयारामभक्त माथेमालाई चिठी सहित गोप्य रुपमा कलकत्ता पठाए । माथेमाले सुवर्णको निवास कनक बिल्डिङमै पुगेर राजाको पत्र हस्तान्तरण गरे । चिठीको बाहिरी खाममा सुवर्णको नाम थियो भने भित्रको अर्को खाममा चाहीँ रुद्रको छोराहरुमार्फत राजाको पत्र रुद्रकहाँ पुर्याइयो ।

शाही चिह्न र छाप भएको लेटरप्याडमा मार्च ३०, १९५० को मितिमा औपचारिक पत्र लेख्दै राजाले रुद्र शमशेरलाई (मेरा प्रिय मित्र) भनी सम्बोधन गरेका थिए । पत्रमा तिमिहरुलाई अन्याय परेको छ भने अनेकौं गन्थनहरुसहित भनिएको थियो, अब तिमिहरुले मलाई मद्दत गर्नुपर्यो । जहाँसम्म आशा गर्छु कि तिमिहरुले मद्दत गर्नेछौ ।

क्रान्तिमा राजको भूमिकाबारे बीपीले भनेका छन्, क्रान्तिमा राजाबाट ठूलो सहयोग पायौं । तपाईले अनुमान नगरे पनि राजाको भूमिका यथेष्ट थियो । मलाई थाहा छ यो । क्रान्तिमा हाम्रो मात्र होइन, राजाको नैतिक समर्थनले पनि ठूलो भूमिका खेलेको थियो ।

राजाको पत्र पाएपछि ढुक्क भएका रुदले छोराहरुसामु कुनै प्रतिक्रिया जनाएनन्, बरु आफ्ना विश्वासिला नरबहादुर नामका लेफ्टिनेन्टलाई सुवर्णकहाँ सबै कुरा बुझ्न पठाए । बीपी र सुवर्ण राजा त्रिभुवनलाई भगाएर पाल्पा लैजाने, उनलाई संवैधानिक राजा मानेर त्यहीँबाट समानान्तर सरकार चलाउने अनि भारतलगायत अन्तराष्ट्रिय समुदायको मान्यता दिलाएर क्रान्ति अघि बढाउने योजनामा थिए ।

यता काठमाडौमा पनि कर्णेल तोरण शमशेरलगायत सेनाका अधिकारी कांग्रेसलाई सघाउन तयार थिए । कस्तो कदम चाल्ने भन्ने योजना बनाउन सिबी सिंह, पूर्णसिंह खबास, दिलमानसिंह थापा, दिलबहादुर राई, सुन्दरराज चालिसे, थिरबम मल्ल आदि लागिपरेका थिए । रेकी गर्न दिलमान सिंह थापा र मानबहादुर राई काठमाडौंभित्रै सक्रिय थिए । भूपू सैनिकहरुसँग सम्पर्क राखी क्रान्तिको वातावरण बनाउने, हवाइजहाज उतार्ने ठाउँ खोजी गर्ने, क्रान्ति सुरु गरेपछि लुक्न सक्ने सम्भावित स्थानको खोजी गर्ने जिम्मेवारी उनीहरुलाई दिइएको थियो । केही दिन काठमाडौंमा बस्दा उनीहरुले राणाका दरबारहरुमा सुरक्षागार्ड बलियो नभएको गोप्य प्रतिवेदन पठाइसकेका थिए । पाल्पाका बडाहाकिम रुद्रलाई मिलाएपछि गोरखपुर (भारत)को बगाहमा नेपाली कांग्रेसको बैठक गरी बीपी आफैं भूमिगत रुपमा पाल्पा गए । रुद्रले उनलाई लिन बोर्डरमा आफ्ना विश्वासपात्र पठाए । रातको दुई बजे जिपमा राखेर बीपीलाई भारतीय सीमा कटाइयो ।

एक रात बुटवल बसेर बिहानै घोडा चढी उनले पाल्पाको यात्रा तय गरे । त्यो बेलाको स्मरण गर्दै रुद्रका नाति इतिहासकार पुरुषोत्तम शमशेर जबरा लेख्छन्, मोस्ट वाण्टेडको सूचीमा राखिएका बीपीको सुरक्षा गर्नु हाम्रा लागि निकै कठिन र चुनौतीपूर्ण थियो । त्यसैले मेरो बुबाज्यू ईश्वर शमशेर बिरामीको बहाना बनाएर दरबारबाट बाहिर निस्कन छोडिबक्सियो । ईश्वरकै कोठमा बेग्लाबेग्लै पलङ राखेर बीपीका लागि ओछ्यान तयार पारियो । दुई जनाका लागि मात्रै भनेर बडाहाकिमका बुहारीहरु आफैंले खाना बनाउन थाले । दरबारमा रहेका मोहन शमशेरका जासुसहरुले सुइँको नपाउन भनेर यो तहको सतर्कता र गोप्यता कायम गरिएको थियो ।

पाल्पा दरबारमा दुई दिन बस्दा कहिल्यै बीपी बाहिर निस्किएनन् । पुरुषोत्तम लेख्छन्, चाँदीको थालीमा भुजा र दसबाह्र ओटा चाँदीकै प्लेटमा बेग्लाबेग्लै परिकार राखिन्थ्यो । खाइसकेपछि ती थाली, रिकापी, कचौरा र गिलास बीपी आफैं सेतो तन्नामा राख्नुहुन्थ्यो र त्यो तन्नालाई मुठ्ठा पारी मलाई समात्न दिनुहुन्थ्यो । बीपी पुरुषोत्तमसँग ठट्टा गर्दै भन्थे, बाबुसाहेब मलाई पक्राउ गराउने होइन ? राम्रो पुरस्कार पाइन्छ । जवाफमा पुरुषोत्तम भन्ने गर्थे, तपाईलाई पक्राउने तरखर गर्दै छु ।

बीपी र रुद्रबीच राजालाई कसैगरी भगाएर पाल्पा ल्याउने अनि हवाइजहाजबाट बम खसालेर सिंहदरबार ध्वस्त बनाई राणाशासनको अन्त्य गर्ने अनि राजालाई पुनः काठमाडौं लगी सिंहासनमा राख्ने योजना बनेको थियो । रुद्रसँग सबै कुरा मिलेपछि बीपी प्रसन्न मन लिएर भारत फर्किए । योजना कार्यान्वयनका लागि महावीर शमशेरका चार ओटा डकोटा जहाज तयारी अवस्थामा राखिएका थिए । जहाज अवतरण गर्न नवलपरासीको बर्दघाटनजिकै जंगल फाँडेर विमानस्थलसमेत बनाइयो । पाल्पा दरबारमा वायरलेस संचार राखी कलकत्तासहित विभिन्न भारतीय सहर र काठमाडौंमा सम्पर्क गर्ने व्यवस्था मिलाइयो ।

त्यो बेला काठमाडौंबाट मोहन शमशेरका एकएक गतिबिधिबारे पाल्पामा रिपोर्टिङ हुने व्यवस्था मिलाएको थियो । कलकत्ता, काठमाडौं र पाल्पाबीच निरन्तर संवाद हुन्थ्यो । राजासँग सम्पर्कका लागि सुवर्णले संचारसंयन्त्र बनाएका थिए । कलकत्ताबाट दरबार जाने चुरोटका बट्टा खोलेर सिगरेटको सुर्ती झिकी सन्देश लेखिएको नेपाली कागज त्यसभित्र राख्ने, सुर्ती भरेर फेरि प्याकेट बन्द गर्ने अनि प्याकेट सिल गरी दरबार पठाउने गरिएको थियो । यो सबै काम सुवर्णले नै मिलाएका थिए । चुरोट नारायणहिटी राजदरबारमा आउनेजाने मानिसले राजालाई नै दिने व्यवस्था मिलाइएको थियो ।

इतिहासकार ज्ञानमणि नेपालका अनुसार राजा त्रिभुवनलाई पाल्पा लैजान कांग्रेसले तीन ओटा योजना बनाएको थियो । पहिलो, होलिकोप्टर नारायणहिटी दरबारभित्रै ओराल्ने अनि राजा र राजपरिवारलाई टिपेर सोझै पाल्पा उतार्ने ।
दोस्रो, नारायणहिटीबाट कुनै जुक्तिले राजालाई सुटुक्क एयरपोर्ट पुर्याएर त्यहाँबाट सोझै परासीमा उतार्ने र पाल्पा लैजाने ।
तेस्रो, आफ्नो मान्छेको साथमा पठाएर रातारात राजालाई कसैगरी हिँडाएर पाल्पा पुर्याउने ।

त्यो बेला भाडामा हेलिकोप्टर पाइदैनथ्यो । त्यसैले नारायणहिटी दरबारबाट हेलिकोप्टरमा राखी राजालाई दसपन्ध्र मिनेटको अन्तरमा राणाको पहुँचबाहिर लैजाने काम भारतको सहयोगबिना सम्भव थिएन । भारतीय रक्षा मन्त्रलयको अनुमतिबेगर हेलिकोप्टर उड्नसमेत सक्दैनथ्यो । योजना कार्यान्वयनका लागि काठमाडौंमा रहेका गणेशमानले हेलिकोप्टरको व्यवस्था हुन सके राजा पाल्पा जान तयार रहेको खबर बीपी र सुवर्णसम्म पठाएका थिए ।

बीपीले भनेका छन्, हेलिकोप्टरका विषयमा कुरा गर्दा भारतीयहरुले जवाफ दिए– हम लोगों के पास तो हेलिकोप्टर नहीं है, आप के पास कैस होगा । न त भारतको सहयोग बिना कांग्रेसले हेलिकोप्टर किन्न नै सक्थ्यो । हेलिकोप्टर दिन भारत सरकार तयार नभएपछि त्यो योजना तुहियो ।

उता, बीपी पाल्पा पुगेर रुद्र शमशेरलाई पनि कांग्रेसमासँग मिलाइसकेको सूचना महाराज मोहन शमशेरकहाँ पुगिसकेको थियो । त्यसैले उनलाई पक्राउ गर्न चन्द्रजंग थापाको नेतृत्वमा २०–२५ जना सिपाही पाल्पा पठाइयो । तर, त्यसअघि नै बीपी भारततर्फ लागिसकेकाले उनलाई समाउन सम्भव भएन । अनि मोहनले बडाहाकिम रुद्रलाई पाल्पामै बन्दी बनाई आफ्ना विश्वासपात्र प्रचण्ड शमशेरलाई बडाहाकिमको जिम्मेवारी सुम्पिए । (जगत नेपालद्वारा लिखित)  बीपीकाे विद्राेह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.