यस्तै छ जिन्दगानी

रिपोर्ट नेपाल | 2021 Jan 19 | 11:37 am 937

यस्तै छ जिन्दगानी

-मित्र ’उराठी’ गौतम
दुधे बालक
र सानो झोला बोकेर
माइती हिंडेकी म
बिच बाटोमा
बस भेटेर
चढें बसमा ।

चढ्नु के थियो
धक्कम् धक्का कोचाकोच
बस्न त के पाइन्थ्यो
मुस्किलले
बच्चा थामेर उभिएँ ।

पहाडी त्यो कच्ची बाटो
बुङ्ग धुलो छिर्छ
ह्वास्व ठर्रा गन्हाउँछ
मात्तिएर ठर्राले
अस्लिल र छाडा गतिमा
बकबक् गरिरहने
यात्री सँगै
जङ्गिन्छ कन्डक्टर पनि
छाडा शब्दकै प्रहार गरेर ।
कानेकिरा खाने
चर्को आवाजमा
घन्किएको हिन्दी गीत सुनेर
घाँटी पछाडि आस्कोटमा

छाता भिरी उभिएका
ख्वाङ् ख्वाङ् खोक्ने
बुढा बाजे
दिक्क मानिरहेका थिए ।

छिन् छिनमा
घ्याच्च घ्याच्च रोक्दा
किन गर्छन् ओहोरदोहोर
पछिल्ला सिटे
ठर्रा पार्टि युवाहरु ?
जस्ले
गल्लिमा उभिनेहरुको सास्ती
के वुझ्थे ?
थप पिडा दिइरहन्छन् ।

कोरोनाको यो विगविगीमा
सायद
कोरोनामुक्त थियो
त्यो बस
ह्वास्व गन्हाउने
र बक्बक् छाडा बोल्नेलाई
मुखौटोको के मतलब ?

सुनिन्थ्यो
सहर तिर कता हो
बसमा पनि महिला सिट हुन्छ रे
वृद्धवृद्धा उभिनु पर्दैन रे
बस भित्र

धुम्रपान, मद्यपान
निषेध छ रे
तर यता यस्तै छ
कसलाई के भन्ने ?
को छ यहाँ सुन्ने ??

यात्राले थकित
मेरो दुधे बालक
अँगालोमै निदाउँछ
हालत यो देखेर
छेउँमा आसिन यात्रुलाई
दया पलाउँछ
मागेर लिन्छन् काखमा
त्यो अवोध शिशु
दयाको पात्र बन्दा
हुन्छ पीडा र ग्लानी
मुर्झाउँछ आत्मसम्मान
हुन्छु पानी पानी ।
यस्तै छ गाउँको हाल
यस्तै छ जिन्दगानी ।।
—अस्तु—

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.