यसपटक बुद्धजयन्ती भव्य मनाइने

रिपोर्ट नेपाल | 2022 Apr 23 | 04:36 pm 329

रूपन्देही, बैशाख १०ः लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी बुद्धजयन्ती मनाइन्छ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यसपटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको लुम्बिनी विकास कोषले जनाएको हो।

‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन्।

यसपटक बुद्धजयन्तीका अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिए।

उनका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा जेठ १ गते गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिनेछ। जेठ २ गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुनेछ। लुम्बिनीमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई  निमन्त्रणा गर्ने कार्यक्रम छ।

जेठ ३ गते बुद्धले २९ वर्ष बिताएको पवित्रस्थल कपिलवस्तुको तिलौराकोटमा रथयात्रा गर्ने कार्यक्रम छ। बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउन विकास कोषले रु एक करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताए। बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुद्धजयन्ती मनाउन नपाएकाले यसपटकको कार्यक्रम विशेष हुने उनको भनाइ छ। बौद्ध ग्रन्थका अनुसार इ.पू ६२३ को वैशाख पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो।

लुम्बिनी उद्यानमा गौतम बुद्धको जन्म भएपछि माइती जान हिँडेकी मायादेवीलाई शाक्य र कोलियवंशका भद्रभलाद्मीको उपस्थितिमा लावालस्कर, बाजागाजा र खुसियालीसहित लुम्बिनीबाट तिलौराकोट फर्काइएको थियो। बालक सिद्धार्थलाई रथयात्रासहित कपिलवस्तु फर्काइएको सोही दिनको सम्झनामा लुम्बिनी विकास कोषले बुद्धजयन्तीको अर्को दिन लुम्बिनीदेखि तिलौरोकोटसम्मको रथयात्रा कार्यक्रम गर्दै आएको छ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लागेका थिए। छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए।

छत्तीस वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिएका थिए जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ। बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिएका छन्। चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन्। बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो। हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ। यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ।

यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्दछन्। यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन। दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ।

यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ। बुद्धले दिएका उपदेशहरुलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन ग्रन्थमा विभाजन गरिएको छ। सुत्तपिटक बौद्ध भिक्षुहरुको पहिलो सङ्गिती (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरु रहेका छन्।

विनयपिटकमा भिक्षुभिक्षुणीहरुका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको सङ्ग्रह गरिएको छ। यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एशियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ।

बुद्धले ध्यान र चिन्तनद्वारा निष्कर्ष निकाली प्रतिपादन गरेका धर्म (दर्शन) का बारेमा विभिन्न स्थानमा उपदेश दिएर ४५ वर्ष बिताए। बुद्धले ५० वर्षको उमेरमा भारतको कुशीनगरमा महापरिनिर्माण प्राप्त गरे। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउछन्।

नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्। विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो।

विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ। संसारभरिका बौद्धमार्गीलगायत शान्तिप्रेमी सबै मानिसबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध लुम्बिनी सन् १९९७ देखि विश्वसम्पदा सूचीमासमेत सूचीकृत गरिएको थियो। हरेक वर्ष संसारभरबाट लाखौँको संख्यामा तीर्थालु पर्यटक तथा अध्येता लुम्बिनीको भ्रमण गर्छन्।

त्यसबाहेक बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार क्षेत्रमा पनि पर्यटकको सङ्ख्या बढ्न थालेको छ। पटकपटक भएका उत्खनन् र खोज अनुसन्धानबाट तिलौराकोट नै राजा शुद्धोधनको दरबार भएको प्रमाणित भएपछि विकास कोष र नेपाल सरकारले तिलौराकोटलाई पनि विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गरेको छ। अब छिट्टै तिलौराकोट दरबार क्षेत्र पनि विश्वसम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत हरिध्वज राईले बताए।

हरेक पूर्णिमामा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गर्ने प्रचलन छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण पूर्णिमा तिथिमा परेका कारण यो दिन विशेषरुपमा पूजा अर्चना गर्ने र दीप प्रज्वलन गर्ने गरिन्छ। भिक्षु, गुरुआमा, उपासक र उपासिकाले हरेक महिनामा पर्ने पूर्णिमामा मायादेवी मन्दिरमा आएर दीप प्रज्वलन गरी बुद्धको सम्झना गरी विश्वशान्तिको कामना गर्ने गर्दछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.