मोरङ कारागारमा एक कैदीको मृत्यु

रिपोर्ट नेपाल | 2021 Nov 20 | 10:01 am 153

विराटनगर, मंसिर ४: विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको शनिबार बिहान मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएपछि जेलमा सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–७ का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार शर्मालाई अचानक न्यून रक्तचापको समस्या देखिएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।

शुक्रबार राति अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा सुधार भएको भन्दै शनिबार बिहान ६ बजे अस्पतालले डिस्चार्ज दिएको थियो । त्यसपछि शर्मालाई कारागारभित्र लगिएको पोखरेलले बताए । उनका अनुसार पुनः स्वास्थ्यमा समस्या देखिएपछि बिहान दोस्रो पटक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई बिहान ७ः४० बजेतिर मृत घोषित गरेको जानकारी निमित्त जेलर पोखरेलले दिए । उनले शर्माको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी भइरहेको बताए ।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले उनलाई  २०७१ साल मंसिर १२ गते ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । अदालतको फैसलापछि उनी मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.