मोजाम्बिकमा भयानक समुद्री आँधी, एक हजारको मृत्यु, उद्धारकार्य जारी

रिपोर्ट नेपाल | 2019 Mar 19 | 08:06 am 69

एजेन्सी: वर्षासहितको समुद्री आँधीका कारण मोजाम्बिकमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। मोजाम्बिकका राष्ट्रपति फिलिप नुरीका अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको बताएका छन्।

आँधी प्रतिघण्टा १ सय ७७ किलोमिटरको बेगमा आएकोले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ। गत बिहीबारदेखि नै ठूलो वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि उद्धारकर्मीहरू भने आइतबारदेखि मात्र त्यस क्षेत्रमा पुग्न थालेको बताइएको छ।

आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १ सय ८० जनाको मृत्यु भएको छ। हवाइ निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखिएको सरकारी अधिकारीहरुले बताएका छन्।

त्यसअघि रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई ठूलो र भयानक बताएका थिए। झण्डै पाँच लाख मानिसको बसोवास रहेको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको जनाइएको छ। आँधीका कारण सडकसहित धेरै ठाउँमा जमिन भासिएका छन्।

जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ। आँधीका कारण जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २ सय १७ जना हराइरहेको त्यहाँको सरकारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.