मेलम्चीको पानी अब घरघरमा

रिपोर्ट नेपाल | 2022 Apr 19 | 07:08 am 405

काठमाडौँ, वैशाख ६ः  मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।

प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौँ उपत्यकावासीको चाहना आगामी आइतबारदेखि पूरा हुने बताएका हुन् । मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढङ्गले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्न पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिए । उनले मेलम्चीको वैकल्पिक स्रोतका रूपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्नसकिने विषयमा अध्ययन भइरहेको पनि जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरुङ मार्ग हुँदै प्रशोधन केन्द्रमा जम्मा भएको पानी परीक्षणपछि आइतबारदेखि उपत्यकामा वितरण गरिने जानकारी गोरखापत्रलाई दिए । पौड्यालले भने, “सुन्दरीजलदेखि मेलम्चीको अम्बाथानसम्मको सुरुङको तह पानीले भरिएको छ । आइतबारसम्म प्रशोधन केन्द्रमा पानी भरिएसँगै वितरण हुन्छ ।”

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा गएको पहिरोसँगै आएको बाढीका कारण आयोजना क्षतिग्रस्त बनेको थियो । गत माघ १४ गतेदेखि आयोजना सफाइ तथा मर्मतको काम सुरु भएको थियो । खानेपानी मन्त्री चौधरीले मुहानबाट गत चैत २९ गते मुहानबाट  पानी पुनः पथान्तरण गरेका थिए । आयोजनाका कार्यकारी निर्देशक पौड्यालले सुरुङ मार्ग भर्ने क्रममा प्राविधिक रूपमा धेरै पानी पठाउन नमिल्ने भए पनि आइतबारदेखि भने दैनिक १७ करोड लिटर पानी सुन्दरीजल आइपुग्ने बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.