मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावले नेकपामा हलचल

रिपोर्ट नेपाल | 2020 Oct 12 | 08:19 am 44

सुर्खेत, असाेज २६ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । तीमध्ये १८ जनाले संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्ताव दर्तासँगै सिंगो नेकपामा हलचल पैदा भएको छ । सही व्यवस्थापन नभए यसबाट पार्टी एकतामै धक्का लाग्ने चिन्ता व्यक्त गरिएको छ ।

यामलाल कँडेलको नेतृत्वमा आइतबार मुख्यमन्त्री कार्यालय पुगेका १८ जना सांसदले शाहीविरुद्धको अविश्वास प्रस्ताव नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका हुन् । शाही पूर्वमाओवादी र कँडेल पूर्वएमाले खेमाका हुन् । मुलुकमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको यो पहिलो पटक हो ।

सांसद कँडेलले प्रदेशसभामा दल र सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाहीले दुवैतर्फ प्रभावकारी काम गर्न नसकेकाले अविश्वास प्रस्ताव दर्ता गरिएको बताए । पटक–पटक पार्टी र संसदीय दलको बैठकमा छलफल गर्दा पनि सरकार र दलको नेतृत्व  प्रभावकारी हुन नसकेपछि अविश्वास प्रस्ताव दर्ता गरेका हौं, कँडेलले भने, दलको विधानबमोजिम बैठक आयोजना गरेर अविश्वास प्रस्तावलाई निर्णय गर्न गराउन अनुरोध गर्दछौं ।

अविश्वास प्रस्तावमा मुख्यमन्त्री शाहीका कारणले जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको आरोप लगाइएको छ । अतः नेकपा प्रदेश संसदीय दलको विधानबमोजिम संसदीय दलको प्रमुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छौं, प्रस्तावमा भनिएको छ ।

हस्ताक्षरकर्तामध्येका एक तत्कालीन नेकपा माओवादीबाट निर्वाचित सांसद धर्मराज रेग्मीले अविश्वास प्रस्ताव दर्ता भएसँगै संसदीय दलको नेताले बैठक आह्वान गर्न नपाउने बताए । दलको विधानअनुसार १५ दिनभित्र प्रमुख सचेतकले बैठक आह्वान गरेर अविश्वास प्रस्तावका विषयमा छलफल र निर्णय गर्नुपर्छ, उनले भने, हामी दलको बैठकमा हुने निर्णय स्वीकार गर्न तयार छौं । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.