‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९’को ग्रान्ड फिनालेकाे मिती ताेकियाे

रिपोर्ट नेपाल | 2019 Jul 29 | 07:25 pm 138

काठमाडौँ, साउन १३ : ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९’ को ग्रान्ड फिनाले साउन २४ गते हुने भएको छ । काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै साेबारे कार्यक्रम संयोजक एवम् पूर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिइन् ।

उक्त कार्यक्रम शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटेल एसोसिएसनको सह–आयोजनामा हुन लागेकाे हाे ।

सरकारले आगामी वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९ को आयोजना गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पुर्‍याउने प्रतिस्पर्धात्मक कार्यक्रमको मूल उद्देश्य रहेको केसीको भनाई छ ।

यस्तै पर्यटन, होटेल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्नेका लागि पनि कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।होटेल अन्नपूर्णमा गरिने ग्रान्ड फिनालेका अवसरमा उक्त दिन मौलिक खाना, पहिरन र भाषालाई प्रबर्द्धन गरिने छ ।

करिब डेढ महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटेल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसमा विभिन्न चरण पार गर्दै देशभरबाट ५० जना प्रस्पिर्धीहरु ग्रान्ड फिनालेमा पुग्न सफल भएका छन् ।

यसबीचमा ग्रान्ड फिनालेमा पुग्न सफल ५० प्रतिस्पर्धीहरूलाई विभिन्न विषय विज्ञहरूले नेपालको पर्यटन, यसका सम्भावना र चुनौतीका विषयमा ज्ञान, पर्यटन क्षेत्रलाई कसरी बढी प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा सिकाइ, हस्पिटालिटी क्षेत्रका दक्ष जनशक्तिमा हुनुपर्ने गुण तथा नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण दिइएको थियो । मिस एन्ड मिस्टर नेपाल २०१९ मा महिला तथा पुरुषबाट एक–एक जना विजेता बन्नेछन् ।

विजेताले के पाउँछन् ?
१ एक–एक लाख नगद पुरस्कार
२ होटेल एसोसिएसन नेपालको सद्भावना दूत
३ क्यान्सर केयर नेपालको सद्भावना दूत
४ युनिभर्सल पिस फेडेरेसनको शान्ति दूत
५ एभरेष्ट फिल्म एकेडेमीबाट निःशुल्क कोर्स
६ फ्लाई टेक इन्टरनेशनलबाट निःशुल्क एयर होस्टेज तालिम

उपविजेताले के पाउँछन् ?

१ विभिन्न कलेज तथा ब्रान्डको ब्रान्ड एम्बेसेडर
२ नेपाल स्किन केयर सेन्टरको ब्रान्ड एम्बेसडर
३ टिभी, रेडियो तथा विभिन्न विज्ञानपनहरु मोडलिङ गर्ने अवसर
४ भिजिट नेपालका विभिन्न कार्यक्रमहरूमा नजिकबाट काम गर्ने अवसर पाउनेछन् ।

शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालीले विगत चार वर्षदेखि युवा सचेतना, नेतृत्व विकास र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.