मालिकामा उत्साहजनक सहभागितासहित गठबन्धनका उम्मेदवारहरुको मनोनयन दर्ता

| 2022 Apr 24 | 09:09 pm 381

गुल्मी, बैशाख ११ः गुल्मीको मालिका गाउँपालिकामा उत्साहजनक उपस्थितिका बीच सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । आइतबार गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा निकै उत्साहजनक उपस्थितिका बीच  सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुको मनोनयन दर्ता भएको हो ।

गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष देबिराम अर्यालले उत्साहजनक जनसहभागिताका कारण आफूहरुमा निरन्तर हौसला बढेको बताए । आफूहरु गठबन्धनबाट साझा उम्मेदवार बनेर घरदैलो कार्यक्रममा जाँदा पनि गठबन्धनका पार्टीमा प्रबेश गर्नेहरुको लहरका कारण आफूहरुले बहुमतका साथ जित्ने अध्यक्षका उम्मेदवार अर्यालको दाबी छ । मनोनय दर्ता पछि अर्यालले आफूहरुको जित सुनिश्चित भएको बताए ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेस मालिका गाउँ कार्यसमितिका सभापति उपेन्द्र अर्यालले गाउँपालिकामा आजसम्म भइरहेका अनियमितता र भ्रष्टाचार बिरुद्ध आफूहरुको गठबन्धन भएको भन्दै सजिलै जित हासिल गर्ने बताए । उत्साहजनक जनसहभागिता नै साझा गठबन्धनको जित्ने बलियो आधार भएको अर्यालले बताए ।

गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वटा वडाध्यक्षसहित सबै उम्मेदवारहरुको मनोनयन दर्ता भएको वडा नम्बर ५ छापहिलेमा गठबन्धनबाट वडाध्यक्षका साझा उम्मेदवार रेखा कुमर जिसीले बताए । आफूहरुले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्ने उनको दाबी छ । उनले गाउँपालिकाको विकासका लागि साझा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन पनि मालिकाबासीसँग आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.